काठमाडौं, १३ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिलाई बोलाएर छलफल गरी भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण दिने सरकारको निर्णयको कार्यान्वयनमा आनाकानी नगर्न निर्देशन दिएको हो । भूकम्प पीडितको संख्या सात लाख ६७ हजार रहेकामा हालसम्म ६ सय ५९ पीडितले मात्र सहुलियतपूर्ण ऋण पाएका छन् । तत्कालीन सुशिल कोइराला नेतृत्वको सरकारले दुई वर्ष पहिले शहरी क्षेत्रका भूकम्प पीडितलाई २५ लाख र ग्रामिण क्षेत्रका पीडितलाई १५ लाख रुपैयाँका दरले सहुलियतपूर्ण ऋण दिने निर्णय गरेको थियो ।
तर बैंकहरुले मुनाफा नहुने भन्दै २ प्रतिशत ब्याजको सहुलियतपूर्ण ऋण दिन आनाकानी गर्दै आएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सरकारी निर्णय कार्यान्व्यन गर्नु सबैको जिम्मेवारी भएको भन्दै ऋण दिने विधि र प्रक्रिया तीन दिनभित्र बैंकमा सार्वजनिकरुपमा टाँस गर्न निर्देशन दिनुभयो । बैंकहरुले सहुलियतपूर्ण ऋण दिन आनाकानी गर्दा तथा सरकारी अनुदान वितरणमा ढिलासुस्ती हुँदा हालसम्म करिब आठ लाखमध्ये ९३ हजार निजी आवास मात्र पुनर्निर्माण गरिएका छन् ।




