सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक एवं सांसद क्रान्तिशिखा धितालले रोल्पामा बाढी र पहिरोका कारण उत्पन्न भयावह स्थिति र जिल्लाको समग्र दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद धितालले रोल्पाका थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपदका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको र केही नागरिक अझै बेपत्ता रहेको जानकारी दिनुभयो । उहाँले मान्छेको अमूल्य ज्यानलाई केवल अङ्कमा मात्र सीमित राखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सांसद धितालले रोल्पा ऐतिहासिक रूपमा राजनीतिक विद्रोह, प्राकृतिक विपद र दुर्घटनाहरूको निरन्तर चपेटामा परिरहेको उल्लेख गर्नुभयो । केही महिनाअघि भएको जीप दुर्घटनामा १९ जनाको ज्यान गएको स्मरण गराउँदै उहाँले रोल्पाका नागरिकहरू सधैँ शोक र त्रासमा बाँच्नुपर्ने नियतिप्रति दुःख व्यक्त गर्नुभयो । परिवर्तनको इतिहास बोकेको र १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य केन्द्र रहेको रोल्पा अझै पनि विकासको न्यूनतम पूर्वाधारबाट वञ्चित रहेको उहाँको तर्क छ ।
विगतको सशस्त्र युद्धको गहिरो प्रभाव (ट्रमा) बाट गुज्रिरहेका रोल्पालीहरूका लागि थबाङ जस्तो ऐतिहासिक ठाउँ ‘वार म्युजियम’ बन्नुपर्नेमा, आज त्यहाँका नागरिकहरू वर्षाको समयमा ज्यान जोगाउनै मुस्किल पर्ने स्थितिमा रहेको उहाँले बताउनु भयो । सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउन आग्रह गर्दै उहाँले विपद आएपछि राहत बाँड्ने परम्पराभन्दा पनि विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित राख्ने दीर्घकालीन योजना ल्याउन माग गर्नुभयो ।




