काठमाडौँ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिसिखा धितालले देशमा भइरहेका श्रृङ्खलावद्ध घटनाहरूमा राज्य र समाजको क्षणिक चासोप्रति प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले एउटा घटनाको पीडा सेलाउन नपाउँदै अर्को घटना प्राथमिकतामा पर्ने प्रवृत्तिले न्यायको खोजी ओझेलमा परेको भन्दै राज्यको संवेदनशीलतामाथि प्रश्न गर्नुभएको हो । सांसद धितालले पछिल्लो समयका विभिन्न घटनाक्रमहरूको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराउनु भयो । बजारमा आउने नयाँ ‘ट्रेन्ड’सँगै न्यायका विषय पनि प्रतिस्थापित हुने गरेको उल्लेख गर्दै उनले नागरिकका पीडामा राज्यले विभेद गर्न नहुने जिकिर गर्नुभयो । उहाँले राज्यको उपस्थिति केवल औपचारिक हुनु नहुने भन्दै पीडितको जीवनमा वास्तविक परिवर्तन ल्याउने गरी कार्यसम्पादन गर्न सरकारसँग माग गर्नुभयो ।




