भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

काठमाडौँ ।

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालमाथि प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधीमाथि कारबाही गर्न ढिलाइ नगर्न चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीको क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनाशर्त साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । शाहीले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएको हत्या, हिंसा र सिंहदरबार तथा संसद् भवन तोडफोडका घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासिनता देखाएको आरोप लगाउनु भयो । उहाँले लामो समयदेखि थन्किएका भ्रष्टाचारका ठूला काण्डहरूःजस्तै एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिद घोटालाको छानबिन कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

उहाँले कानूनको प्रयोग प्रतिशोध साँध्न नभई न्यायका लागि हुनुपर्नेमा जोड दिनुभयो । रोजगारीको विषयमा चिन्ता व्यक्त गर्दै शाहीले विमानस्थलमा युवाहरूको लर्को देख्नुपर्ने विवशता अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले युवाहरू विदेशिन नपर्ने वातावरण बनाउन र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधन प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

Leave a Reply