काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार बुढानीलकण्ठस्थित निवासमा सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।
मन्त्रिपरिषद् पुनः गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा उत्पन्न तनावका बीच सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ । त्यसअघि गठबन्धनको बैठक बोलाइएको छ । मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनसँगै विपक्षी नेताहरुसँग भेटवार्ता गर्नुभएको छ । आइतबार विहानै बालुवाटारमा प्रचण्डसँग कुराकानी गर्नुभएका प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली साँझ पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लिएर पुग्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डले आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग पनि भेट गर्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डका पछिल्ला अभिव्यक्तिले कांग्रेससँग असन्तुष्ट रहेको संकेत गरिरहेको बेला आइतबार राजनीतिक भेटघाट तिब्र भएको हो । प्रचण्डको असन्तुष्टि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छ । यसैबीच कांग्रेसबाट सरकारमा गएका परराष्ट्रमन्त्री एनपी साउदले फिनल्याण्ड भ्रमण स्थगित गर्नुभएको छ । पूर्व निर्धारित तालिकाअनुसार आइतबार साँझ त्यसतर्फ उड्नुपर्ने मन्त्री साउदले अन्तिम समयमा भ्रमण स्थगित गर्नुभएको हो ।