७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ताको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध आज मुद्दा दर्ताको तयारी

काठमाडौं,१८ माघ । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ७ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भिजिट भिसा प्रकरणको अभियोजन गर्ने अन्तिम तयारी गरेको छ । बुधबार उक्त प्रकरणको अनुसन्धान भएको ६० दिन पुगेको भएपनि उच्च अदालत पाटन मातहतका अदालतहरुमा शोक विदा दिइएका कारण बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेश गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत अध्यागमन अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, बिष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा हाल राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागेको हो । सेटिङवापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भएपनि अन्य अध्यागमन अधिकृतहरु भने सबै फरार छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरुले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर हुने भएको हो ।

त्यसबाहेक भिजिट भिसामा सेटिङ गरेर नक्कली कागजात बनाएर विदेश जान खोज्नेहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो । सेटिङमा पठाउँदा पुरुषलाई प्रतिव्यक्ति १० देखि १५ हजार र महिलालाई प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेको आरोपीहरुले बयान दिएका छन् । भाग लगाउँदा एक अध्यागमन अधिकृतको भागमा प्रतिदिन ४० देखि ५० हजार पर्ने गरेको पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);