काठमाडौं,११ पुस । समृद्धि यू–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेज र बूढानीलकण्ठ बास्केटबल क्लबले जितेका छन् । गोल्डेनगेट पुरुषतर्फ र बूढानीलकण्ठ महिलातर्फ च्याम्पियन बनेका हुन् । बूढानीलकण्ठ पुरुषतर्फ पनि फाइनल पुगेपनि पराजित हुन पुुगेको हो ।
राखेपको कभर्डहलमा भएको पुरुषतर्फको फाइनलमा गोल्डेनगेटले बूढानीलकण्ठलाई १००–८८ ले हराउन सफल भएको थियो । तीन क्वाटरमा (२५–१९, २१–२७, २५–२३, २९–१९ )अग्रता कायम राख्दै जितेको हो ।
यसैगरी,महिलातर्फ बूढानीलकणठले आईएसए नेपाललाई २८–१८ ले पराजित गर्यो । पहिलो क्वाटरमा आईएसएले ५–४ को अग्रता लिएको थियो । तर त्यसपछिका तीन क्वाटरले १०–५, ८–३ र ६–५ ले आफ्नो पक्षमा पार्दै बूढानीलकण्डले खेल जित्यो । बूढानीलकण्ठलाई जिताउन रिन्चेन मोक्तान एक्लैले सर्वाधिक १९ अंक स्कोर गरेर उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
प्रतियोगितामा महिला र पुरुष दुवैको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँसहित पदक र ट्रफी प्राप्त गरे । त्यस्तै गोल्डेनगेटका नुकेश मगर र बूढानीलकण्ठकी रिन्चेन प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए र दुवै जनाले समान ५/५ हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ,आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत विरतण गरेका थिए ।