ऐतिहासिक शपथ: एक घन्टा अलपत्र परे सांसद, शपथ लिन हेलिकोप्टर चार्टर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ऐतिहासिक शपथ: एक घन्टा अलपत्र परे सांसद, शपथ लिन हेलिकोप्टर चार्टर्ड

काठमाडौं, ८ माघ । हतारमा आयोजित कार्यक्रम भेट्टाउन प्रदेश प्रमुखलाई नै सास्ती, हेलिकोप्टर चढेरै जाँदा पनि समयमै कार्यक्रम हुन सकेन

प्रदेश १ एक घन्टा अलपत्र परे सांसद
प्रदेश १ का सांसदलाई आइतबार बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो । सांसद र अन्य आगन्तुक समयमा नै पुगे । सभाहलबाहिर ठूलै भिड जम्मा भइसकेको भयो । तर, सांसदहरूको शपथ कार्यक्रम राखिएको सभाहलको ढोका खुलेन । करिब डेढ घन्टा सांसद बाहिरै अलपत्र परे ।

तोकिएको समयमा सभाहलमा कुर्सी व्यवस्थापन भइसकेको थिएन । धमाधम कुर्सीमा कभर राखिँदै थियो । ११ बज्नै लाग्दा सभाहलको ढोका खोलियो र सांसद भित्र पसे । अतिथि र सांसद कहाँ बस्ने भन्ने छुट्याइएको थिएन । जसले जहाँ सिट पाए त्यहीँ बसे ।कार्यक्रम औपचारिक रूपमा सुरु भएपछि बल्ल उद्घोषकले सांसदहरूलाई बायाँतिर बस्न आग्रह गरे । सभाहल एकछिन फेरि अस्तव्यस्त भयो ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराए । उनले अन्य सदस्यलाई शपथ खुवाए । संघीय समाजवादीका जयराम यादवले भने मैथिलीमा शपथ लिए । सबै सांसदलाई नेपालीमा शपथको मस्यौदा बाँडिएको थियो । उनले उल्था गरेर मैथिलीमा शपथ खाएको र मस्यौदा पनि मैथिलीमै सारेर हस्ताक्षर गरेको बताए ।

प्रदेश २
शपथमा नै सांसदको हुटिङ
जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ बजे प्रदेश २ का सांसदको शपथ कार्यक्रम भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले कार्यक्रमको उद्घोषण सुरु गर्नेबित्तिकै सांसदहरूले मैथिलीमा शपथ गर्न पाउनुपर्ने भन्दै हुटिङ थाले ।उद्घोषकले आफ्नो रुचिअनुसारको भाषामा सांसदहरूले शपथ लिन पाउने बताएपछि मात्रै उनीहरू शान्त भएर आसनग्रहण गरे । धेरै सांसदको माग मैथिलीमा शपथ गर्न पाउनुपर्ने थियो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई मैथिली भाषामै शपथ गराउन थाले । तर, अर्का प्रदेश सभा सदस्य जगत यादवले हुटिङ गरेर हिन्दीमा शपथ गर्न पाउनुपर्ने माग गरे । लगत्तै ओमप्रकाश शर्माले भोजपुरीमा पनि शपथ गराउनुपर्ने माग गरे । सभाहल एकछिन अस्तव्यस्त बन्यो ।

चार भाषामा शपथ
हुटिङकाबीच सांसदहरूको आ–आफ्नो रुचिअनुसारको भाषामा शपथको व्यवस्था मिलाइयो । सांसदहरूले मैथिली, नेपाली, हिन्दी र भोजपुरी भाषामा शपथग्रहण गरे ।२४ सदस्यले नेपालीमा, ४७ ले मैथिलीमा, ११ ले हिन्दी र २५ जनाले भोजपुरीमा शपथ लिए । प्रदेश २ मा प्रत्यक्षतर्फ निर्वाचित ६४ र समानुपातिकतर्फका ४३ गरी १०७ सांसद छन् । प्रदेश प्रमुख कायस्थले २१ माघमा प्रदेश सभाको बैठक डाकेका छन् ।

प्रदेश ३ सडक सिँगारेर सांसदको स्वागत
शपथ ग्रहणमा सहभागी हुन आउने प्रदेश सभाका सांसदको स्वागतका लागि आइतबार हेटौँडाका मुख्य सडक सफा गरेर सडक दायाँबायाँ घडा राखिएको थियो । स्थानीयवासी सडकमा नै आएर सांसदलाई फूल दिएर स्वागत गरे ।समूह बनाएर साना सवारीसाधन रिजर्भ गरी अन्य जिल्लाका सांसद हेटौँडा पुगेका थिए । शपथको समय सुरु हुने वेलासम्म पनि सांसदहरू आउने क्रम जारी थियो । हेटौँडा बजारको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । प्रदेश प्रमुख अनुराधा कोइरालाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाका ज्येष्ठ सदस्य एमाले सांसद डोरमणि पौडेललाई शपथ गराएकी थिइन् ।

बाँकी सदस्यलाई पौडेलले शपथ गराए । प्रदेश ३ मा प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फका ४४ गरी ११० सांसद छन् । अधिकांशले नेपाली र केही सांसदले मातृभाषामा शपथ लिए । शपथ कार्यक्रमपछि सांसदहरूका लागि एभोकाडो एन्ड अर्किड रिसोर्टमा दिवाभोज व्यवस्था गरिएको थियो ।

राजधानीकै चर्चा
सर्वसाधारणझै सांसदहरू पनि प्रदेश राजधानीकै चर्चा गरिरहेका थिए । मकवानपुरका सांसदले हेटौँडालाई राजधानी बनाउने प्रतिबद्धता गरे । मुनु सिग्देल, ओम घलान, जुनेली श्रेष्ठ र सन्तबहादुर प्रजाले राजधानीका लागि हेटौँडा नै सबैभन्दा उत्तम भएको बताए ।

प्रदेश ४ दीपक मनाङेसहित दुईजना अनुपस्थित

प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार आफ्नो पद सम्हालेलगत्तै प्रदेश सभा सदस्यहरूलाई शपथ गराए । पोखराको नदीपुरस्थित प्रदेश सभास्थल ९नगर विकास प्रशिक्षण केन्द्रको हलमा शपथग्रहण कार्यक्रम राखिएको थियो ।दुई सांसद भने शपथ समारोहमा अनुपस्थित रहे । प्रदेश प्रमुख कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ गराए । बाँकी सदस्यलाई श्रेष्ठले शपथ गराए । प्रदेश सभास्थल रंगरोगन र मर्मतसम्भार गरेर सजाइएको थियो ।

दुई सांसद अनुपस्थित
मुस्ताङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेको नामले चिनिने राजीव गुरुङ र तनहुंका एमाले सांसद रामबहादुर गुरुङ शपथग्रहणमा उपस्थित थिएनन् । मनाङेलाई हालै सर्वोच्च अदालतले हत्या आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसअघि उनलाई पुनरावेदनले पाँच वर्षको सजाय सुनाएको थियो । उनी पक्राउ पर्ने डरले कार्यक्रममा उपस्थित भएनन् ।

एमाले सांसद गुरुङ काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण कार्यक्रममा पुग्न सकेनन् । उनी आइतबार मात्रै विदेशबाट काठमाडौं आएका थिए । शपथ कार्यक्रम सकिएपछि मात्रै उनी पोखरा पुगेका थिए । प्रदेश ४ मा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकतर्फका २४ गरी ६० सांसद छन् ।

प्रदेश ५ निर्धारित समयमा पुगेनन् सांसद
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सांसदहरूलाई बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो ।तर, निर्धारित समयमा ३० सांसद पनि उपस्थित भएनन् । त्यसकारण निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । एक घन्टा ढिलो सुरु भयो । प्रदेश प्रमुख झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराए । बाँकी सांसदलाई पोखरेलले शपथ खुवाए ।

प्रदेश ५ मा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ सांसद छन् । आइतबार ८५ सांसदले शपथ लिए । सभाहलमा सांसदहरूका लागि सेतो रङको कुर्सी राखिएको थियो । अन्य अतिथि र आगन्तुकका लागि प्लास्टिक कुर्सीहरूको व्यवस्था गरिएको थियो ।शपथपछि प्रदेश प्रमुखले सबै सांसदसँग छुट्टाछुट्टै परिचय गरेका थिए । त्यसपछि सांसदहरू फोटो खिच्नमा व्यस्त बने । प्रदेश प्रमुख झाले पनि आइतबार नै पदबहाली गरेका हुन् । रुपन्देही व्यापार संघको कार्यालयमा उनको अस्थायी कार्यालयको व्यवस्था गरिएको छ ।

दुई सांसद अनुपस्थित
रुपन्देहीका सहायक सिडिओ शम्भुप्रसाद रेग्मीका अनुसार शपथ समारोहमा दुई सांसद अनुपस्थित रहे । उनका अनुसार रुपन्देहीकी राजपा सांसद विना पन्त र अर्घाखाँचीकी एमाले सांसद जलपा भुसाल शपथ कार्यक्रममा सहभागी भएनन् ।

प्रदेश ६ शपथ लिन हेलिकोप्टर चार्टर्ड
प्रदेश ६ का सांसदहरूले अस्थायी मुकाम सुर्खेतमा आइतबार शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनीहरूलाई शपथ गराएका हुन् । खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ गराए । बाँकी ३९ सदस्यलाई शाहीले शपथ खुवाए ।

प्रदेश प्रमुख र सांसद नपुगेपछि कार्यक्रममा दुई घन्टा ढिलाइ
प्रदेश सांसदलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम थियो । त्यहीअनुसार सबैलाई निम्ता गरिएको थियो । तर, प्रदेश प्रमुख खनाल र प्रदेश सभाका आधाजसो सदस्य समयमा सभास्थल पुग्न सकेनन् । उनीहरू काठमाडौंमै थिए । शनिबार मौसम खराबीका कारण जहाज उड्न नसकेपछि आइतबार बिहान उनीहरू सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सुर्खेत पुगे ।

प्रदेश प्रमुख खनाल आफैंले पदभार ग्रहण गरेका थिएनन् । त्यसैले विमानस्थलबाट सीधै पदबहाली गर्न प्रदेश प्रमुखको कार्यालय पुगे जहाँ उनले सेनाको सलामी पनि थापे । त्यतिन्जेल बिहान ११ बजे तोकिएको सांसदहरूको शपथ कार्यक्रम दिउँसो १ बजेका लागि सारिएको थियो ।सांसदहरूको शपथ कार्यक्रम जिल्ला समन्वय समितिको साँघुरो सभाहलमा गरियो । आगन्तुक धेरै भएपछि कार्यक्रम नै अस्तव्यस्त बन्यो । कार्यक्रम सकिने वेलासम्म पनि कुर्सी प्रबन्ध गर्नमै आयोजक व्यस्त थियो ।

प्रदेश ७ प्रदेश प्रमुखको पर्खाइमा ५ घन्टा
बिहान १० बजे सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय थियो । तर, प्रदेश प्रमुख नै नपुगेपछि झन्डै पाँच घन्टा ढिलो मात्रै कार्यक्रम सुरु भयो । काठमाडौंमै रहेका प्रदेश प्रमुख मोहनराज मल्ल जहाजबाट धनगढी फर्कने कार्यक्रम थियो ।तर, हुस्सुका कारण जहाज नउडेपछि उनी सडकमार्गबाट आइतबार मध्याह्न मात्र धनगढी पुगेका थिए । केही सांसद पनि तोकिएको समयमा कार्यक्रमस्थल पुगेनन् । त्यसैले दिउँसो २ बजेका लागि शपथ कार्यक्रम सारियो । तर, सारिएको समयमा पनि एक घन्टा ढिलो गरी शपथ कार्यक्रम सुरु भयो ।

जिल्ला समन्वय समितिको सभाहलमा शपथ कार्यक्रम राखिएको थियो । प्रदेश प्रमुख मल्लले ७४ वर्षीया ज्येष्ठ सदस्य दिव्येश्वरी शाहलाई शपथ गराए । बाँकी ५१ सदस्यलाई शाहले शपथ गराइन् । प्रदेश ७ मा ५३ सांसद छन् ।

एक अनुपस्थित, एकको छुट्टै शपथ
डोटीबाट निर्वाचित भरतकुमार खड्का शपथ कार्यक्रममा उपस्थित भएनन् । सोमबार छोरीको बिहे भएका कारण उनी अनुपस्थित भएका हुन् । उनको शपथ पछि हुनेछ । त्यस्तै, चुनकुमारी चौधरी शपथ सकिएपछि मात्रै कार्यक्रममा पुगिन् । उनलाई छुट्टै शपथ गराइयो ।आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);