झापा, १६ मंसिर ||
झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्र्याएको छ ।
अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन शुरु गरेको हो । इन्धन र विद्युतबिना नै सञ्चालन हुने इन्सिनरेटरबाट एक घण्टामा एक क्विन्टल फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । पूर्वाधारसहित २० लाख रुपैयाँ लागतमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि भित्र्याइएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले बताउनु भयो । फलाम र सिसा बाहेक अस्पतालबाट उत्पादित फोहोर नष्ट गरिने भट्टराईले बताउनु भयो ।
उपकरण उत्पादक कम्पनीकाअनुसार इन्सिनरेटर सञ्चालन गर्दा इन्धन चाहिँदैन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुलीको उपस्थितिमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभयो । नगरप्रमुख प्रसाईंले जडान गरिएको इन्सिनरेटरको प्रभावकारिता अध्ययन गरेर पालिकाहरूले पनि जडान गर्ने निर्णय गर्ने बताउनु भयो ।
इन्सिनरेटरले अक्सिजनको सहायताबाट फोहोर जलाउने र सेतो धुवाँ बाहिर फाल्नेछ । जलेको फोहोरबाट उक्त प्रविधिले धुवा प्रशोधन गरेर प्रदुषण नहुने धुवाँ मात्रै बाहिर निकाल्ने र अन्य प्रदुषणजन्य धुवालाई पानीमा परिणत गरेर पाइपमार्फत बाहिर निकाल्नेछ ।