रूपन्देही, ४ माघ । सरकारले प्रदेश–५ को अस्थायी केन्द्र रूपन्देहीलाई तोकेपछि जिल्लावासीले सरकारको सो निर्णयको स्वागत गर्दै स्वागतमा दीपावली गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघसहित अन्य विभिन्न सामाजिक संघसंस्थाले पूर्वाधार सम्पन्न रूपन्देहीलाई प्रादेशिक केन्द्र तोकेकाले स्वागत गरेका हुन् । सो निर्णयको स्वागत गर्दै नेपाल पत्रकार महासंघ रूपन्देही शाखाले पनि बुटवलमा दीपावली गरेको छ । यसैगरी, नेपाली कांग्रेसले पनि बुटवलमा दीपावली गरेको छ । कांग्रेसले सैनामैना, देवदह, मणिग्रामलगायतका क्षेत्रमा पनि दीपावली गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले बुटवल सबै हिसाबले उपयुक्त क्षेत्र भएकाले सरकारले गरेको निर्णयलाई आफूहरूले स्वागत गरेको बताए । अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक क्षेत्र र अन्तर्राष्ट्रिय सभाहल बुटवलमा निर्माणाधीन रहेकाले केन्द्र रूपन्देही तोक्नु सबैको हितमा रहेको उनले बताए । उनले यो निर्णय प्रदेश–५ का जनताका लागि अनुकूल रहेको बताए ।
भौतिक पूर्वाधार र सबै जिल्लालाई पायक पर्ने क्षेत्र भएकाले बुटवलमा प्रदेश केन्द्र बनाएर सरकारले सही निर्णय गरेको रूपन्देही उद्योग संघका नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले बताए । उनले अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र लुम्बिनी, औद्योगिक हबको रूपमा चिनिएको क्षेत्र भएकाले रूपन्देहीमा केन्द्र तोक्नु उपयुक्त रहेको बताए । १० हजारबढी उद्योग रहेको, ऐतिहासिक जितगढी किल्ला, मोफसलमा सञ्चारको राजधानीसमेत रहेकाले रूपन्देही केन्द्रको रूपमा उपयुक्त रहेको उनले बताए । रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले सबै हिसाबले उपयुक्त क्षेत्र बुटवल भएकाले केन्द्र बनेकाले आफूहरू उत्साही भएको बताए । उनले बुटवल बनाउँदा व्यापार संघको भवन पनि दिन तयार रहेको बताए ।
पूर्वाधार तयारी अवस्थामा
प्रदेश–५ को राजधानी बुटवल हुँदा प्रमुख, मुख्यमन्त्री, मन्त्री, सचिवालयका लागि मन्त्रालय र कार्यालयका लागि प्रर्याप्त पूर्वाधार छन् । अब कुन ठाउँमा कार्यालय रहन्छन् भन्ने जिज्ञासा उब्जेको छ । क्षेत्रीय प्रशासन कार्यालय पोखराका सहप्रशासक बाबुराम गौतमको नेतृत्वमा बुटवल आएको टोलीले कुन मन्त्रालय कार्यालय कहाँ राख्नेसम्मको निर्णय गरेर फर्केकाले सोहीअनुसार कार्यालय रहने अनुमान गरिएको छ ।
प्रदेशको सचिवालय इलाका वन कार्यालय बुटवलमा राख्न सकिनेछ । मुख्यमन्त्रीको निवास राजस्व अनुसन्धान कार्यालय बुटवल, सवारी मन्त्रालयअन्तर्गतको यातायात कार्यालय, इलाका प्रशासन कार्यालय, सिँचाइ मन्त्रालयअन्तर्गतको कपिलवस्तु नलकुप आयोजना, नापतौल तथा गुणस्तर कार्यालयका संरचनामा विभिन्न मन्त्रालहरू राख्न सकिनेछ । यसका साथै बुटवल उद्योग वाणिज्य संघ कार्यालय, रूपन्देही व्यापार संघ, अदालत, निर्माणाधीन श्रम कार्यालयमा विभिन्न मन्त्रालय र निवास राख्न सकिने भौतिक पूर्वाधार रहेका छन् ।आजको राजधानी दैनिकमा यस्तो खवर छ ।




