महत्वाकांक्षी योजनासहित विष्णु पौडेलको प्रतिबद्धतापत्र सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महत्वाकांक्षी योजनासहित विष्णु पौडेलको प्रतिबद्धतापत्र सार्वजनिक

बुटवल। रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएकाे आश्वासन दिए । प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीध र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले पुनः दोहोर्‍याएका छन् । यसलाई उनले ड्रिम प्रोजेक्टका रुपमा यसअघि नै अगाडि बढाएका थिए । ‘सिँचाई, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण अघि बढाइने छ’ उनको प्रतिबद्धता छ ।प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । पौडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायत ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ । यस्तै, बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने, आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायत पूर्वाधार निर्माण गरिने उल्लेख छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिबद्धतापत्रमार्फत पूर्व-पश्चिम राजमार्गको बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नती गरिने जनाएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ । प्रतिबद्धतापत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने छ ।’ पूर्व-पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवं आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने पौडेलले उल्लेख गरेका छन् ।निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ ।यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन्, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत् र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);