काठमाडौं, १० असोज
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको बताउनु भयो । उहाँले आफ्नो नाममा आफूले नचाहँदा नचाहँदै पनि नाम राखेको र त्यसबाट के–के गरे भन्नेबारे आफू अनविज्ञ रहेको बताउनु भयो । उहाँले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पार्नुभयो । पछिल्लो समय त्यसलाई विवादमा तान्ने काम भएको भन्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहनुभएका उहाँले अख्तियारमा समेत उजुरी परेर छानबिनको विषय बनेको कुरा आफूले जानकारी पाएको बताउनु भयो । उहाँले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताउनु भयो । उहाँले सर्प पालनमा आफ्नो कुनै लगानी र पेशा व्यवसाय नभएको स्पष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला,साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गर्नुभयो ।