आजदेखि रसुवागढी नाकामा कन्टेनर सञ्चालन नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजदेखि रसुवागढी नाकामा कन्टेनर सञ्चालन नहुने

रसुवा, १ माघ । चीनसँगको व्यापारिक नाका रसुवागढीमा आजदेखि कन्टेनर सञ्चालनमा रोक लगाइने भएको छ ।

माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि आजदेखि कन्टेनर सञ्चालनमा रोक लगाएको हो । सामान आयातका लागि केरुङ पुगेका कन्टेनरमा हिजोसम्म मात्र शिल लगाइएको छ । हिजो शिल लगाइएका कन्टेनर आजै नेपाल भित्रिसकेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिए ।

सामग्री बोक्ने कन्टेनर सञ्चालन नभए पनि पर्यटक बोक्ने सवारी तथा नागरिकलाई आवतजावत गर्न समस्या नहुने प्रमुख कार्यालयले जनाएको छ । केरुङमा ल्होसारको समयमा भन्सारको काम ठप्प हुने भएपछि त्यहाँ पुगेका व्यवसायी पनि नेपाल फर्कने तयारीमा छन् । चिनियाँ भन्सार बन्द हुने भएपछि केरुङ जाने तयारीमा रहेका कन्टेनर रसुवाकै बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रु र टिमुरेमा रोकिएका छन् ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ । चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायतका सामग्री निर्यात हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);