काठमाडौं, १३ भदौ । पछिल्लो समय हाईप्रोफाइलदेखि सर्वसाधारण मानिसहरु बेपत्ता भइरहेको खबर आइरहेका छन् । कसैले आफ्नो शरीरमा पेट्रोल त कतिले मट्टितेल खन्याएर आत्मदाहको प्रयास पनि गरिरहेका छन् ।
नेपाली सेनाका गुल्मपति विमल पण्डित बेपत्ता भएको ४ दिन बित्दापनि सम्पर्कमा आएका छैनन् । उनको अवस्था अझै अज्ञात छ । डोल्पाको दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साझ ५ बजे तिरबाट सम्पर्क विहिन भएका थिए उनी परिवारको सम्पर्कमा पनि नरहेको बुझिएको छ ।
पण्डितको मोवाइलको अन्तिम लोकेशन ब्यारेकबाट १ घण्टा टाढा रहेको त्रिपुराकोटमा देखिएको छ । आइतबार साझ बजार घुमेर आउँछु भनि अंगरक्षकलाई नलिएर पण्डित एक्लै भदालेस्थित गुल्मबाट निस्किएका थिए । उनको मोबाइल पनि अफ छ । गुल्मपतिको खोजी गर्न नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।




