राजनीतिक द्वन्द्वको चेपुवामा पिस्ता | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राजनीतिक द्वन्द्वको चेपुवामा पिस्ता

एजेन्सी, १ माघ । इरान र अमेरिकाबीचको तनावले गर्दा पिस्ताको अन्तर्राष्ट्रिय बजारले अनपेक्षित अवस्थाको सामना गर्नुपरेको छ। अन्तर्राष्ट्रिय पिस्ता उद्योगमा वार्षिक अर्बौं डलरको कारोबार हुने गर्छ र लोकप्रिय खानेकुरा हुँदै गइरहेका बेला यसको कारोबार बढ्दो छ।

पिस्ता बजारमा अमेरिका र इरानको वर्चस्व छ। कुल वार्षिक उत्पादनमा पछिल्लो दशकदेखि दुई मुलुकको ७० देखि ८० प्रतिशत हिस्सा रहेको छ।पछिल्ला ४० वर्षयता इरानी उत्पादनकर्ताले अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रसम्मको आफ्नो पहुँचमा प्रतिबन्ध, दस्तुर र अवरोधको सामना गरेका छन्। हुन त अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका उत्पादनको सूचीमा पिस्ता समेटिएको छैन।

तर पनि अन्तर्राष्ट्रिय ब्याङ्किङ् प्रणालीमा गरिएको अवरोधका कारण इरानी किसानले कठिनाइको सामना गर्नुपरेको छ। सन् २०१६ मा इरानको पारमाणविक कार्यक्रमसम्बन्धी ‘द ज्वाइन्ट् कम्प्रेहेन्सिभ् प्लान् अफ् एक्शन्’ मा सहमति भएपछि त्यो अवस्थामा परिवर्तन आयो। इरानसँग अमेरिका र उसका साझेदार मुलुकबीच भएको सम्झौतापछि प्रतिबन्धहरू फुकुवा भए।

त्यसपछि इरानी तेलले पुनः अन्तर्राष्ट्रिय बजार पाउन थाल्यो र पिस्ताको निर्यात पनि बढ्न शुरू भयो। तर यो परिस्थितिले चुनौतीहरूको सामना गर्नुपर्ने हुनसक्छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाका पालामा इरानसँग गरिएको सम्झौता हालसम्मकै ‘नराम्रो’ भनेका छन्।

गत अक्टोबरमा उनले उक्त सम्झौतालाई प्रमाणीकरण गरेनन्। ट्रम्पले पारमाणविक सम्झौताप्रति इरान बफादार रहे वा नरहेको निर्क्योल गर्न र अमेरिका उक्त सम्झौतामा बाँधिरहन हुने वा नहुनेबारे टुङ्गो लगाउने जिम्मा अमेरिकी कंग्रेसलाई सुम्पे।

आफ्नो कदमको घोषणा गर्दै ट्रम्पले पारमाणविक सम्झौताले ‘इरानको तानाशाहलाई राजनीतिक र आर्थिक जीवन दिएको तर परमाणु अस्त्रको विकास गर्नबाट रोक्न नसकेको’ बताएका थिए। इरानको पिस्ता उत्पादन संघका उपनिर्देशक होजात् हस्सनी सादीका अनुसार सम्झौता गुमाएमा र प्रतिबन्धहरू पुनः लागू भएमा पिस्ता बजारमा ‘पक्षपातपूर्ण र असमान प्रतिस्पर्धा’ फेरि शुरू हुनेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);