निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच बर्ष पुरा, न्याय पाउने कुरा एकादेशको कथा | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच बर्ष पुरा, न्याय पाउने कुरा एकादेशको कथा

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच बर्ष पुरा भएको छ । निर्मलाले न्याय पाउने कुरा एकादेशको कथा जस्तै बनेको छ ।

अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा छ । अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको प्रहरी अधिकारीहरुले बताउदै आएका छन् ।

फलस्वरुप अहिलेसम्म दोषीको पहिचान समेत भएको छैन । विद्यालयले दिएको गृहकार्य गर्न छिमेकी साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला २०७५ साउन ११ गते घर नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसवेला यो घटनाले राष्ट्रिय रुप लिएको थियो । त्यस बेलादेखि अहिलेसम्म छोरीको न्यायका लागि निर्मलाकी आमा दुर्गादेवीले नगरदेखि जिल्ला, जिल्लादेखि प्रदेश र प्रदेशदेखि संघीय राजधानी धाइरहेकी छिन । तर अपराधी पत्ता लागेको छैन । पीडित पक्षले राज्यसँग हारगुहार गरेको पाँच बर्ष भइसक्यो । निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन कञ्चनपुर पुगेकाहरु अहिले सरकारमा छन । तर अहिले यो घटनाबारे अनुसन्धान जारी छ कि छैन भन्ने बारे पीडित परिवार जानकार छैन ।

देशभित्र मात्रै नभइ अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको घटना भनेर चर्चा चल्ने गर्छ । तर जबसम्म घटनाको वास्तविकता बाहिर आउदैन, दोषीउपर कानुनी कारवाही हँुदैन तबसम्म यस्ता चर्चाको औचित्य देखिँदैन । निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए । ती प्रतिवेदनहरु अहिलेसम्म कार्यान्वयन आएको देखिएन ।

तत्कालिन समयमा न्यायको माग गर्दै देशभर जनसागर उर्लिएको थियो तर समय बित्दै जाँदा निर्मला पन्तको घटना विस्तारै ओझेलमा पर्दै गएको छ । निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । तर उपलब्धि शून्य छ । कञ्चनपुरकी निर्मला पन्त मात्र होइन देशभरका यस्ता कयौ निर्मलाहरुले न्याय पाउन सकेका छैन । त्यसैले होला नागरिकलाई नेपालको न्याय निकै महंगो लाग्न थालेको छ ।

आम सर्वसाधारणहरु आफ्नो न्यायको लागि वकिलसम्म पुग्न सक्ने अवस्था नभएकै कारण सडक नै न्याय माग्ने थलो बनिरहेको छ । नेपाल प्रहरीको इतिमासमै सबै भन्दा बढी गिजोलिएको निर्मला प्रकरणबारे सत्यतथ्य कहिले आउँछ अझै अनुमान गर्न सक्ने अवस्था छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);