काठमाडौं । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ ।
लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्टले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा सिंगापुर पहिलो घोषित भएको हो ।
सिंगापुरका नागरिकले विश्वका १ सय ९२ गन्तव्यमा अनअराइभल भिसामा यात्रा गर्न पाउने छन् । दोस्रो स्थानमा १९० गन्तव्यमा अनअराइभल भिसामा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ । दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ ।
भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् । नेपाल ९८ औँ स्थानमा सीमित रहेको छ । नेपालले ३८ वटा देशमा मात्र मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छ । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।