काठमाडौं, २७ पुस । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले संक्रमणकालको अन्त्य भईसकेकाले अब सबै मिलेर आर्थिक समृद्धिको एजेण्डालाई पुरा गर्नुे बाटोमा एकढिक्का हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित नेपाल विज्ञापन संघको १८ औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुक संघियतामा गईसकेकाले कसैले पनि अब राजनीतिक संक्रमणकालको नाममा मुलुकलाई बन्दी बनाउन नपाउने बताए ।
अब सरकार र नीजि क्षेत्र सबैको एजेण्डा आर्थिक सम्वृद्धि रहेको भन्दै उनले त्यस बाटोमा हातेमालो गरि अघि बढ्न संघलाई आव्हान गरे । मन्त्री बस्नेतले प्रतिष्पर्धाले व्यवसायमा परिमार्जन ल्याउने भन्दै मर्यादित ढंगले व्यवसायिक प्रतिपर्धामा अघि बढ्न संघलाई सुझाव दिए ।
मन्त्री बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा सरोकारित निकायबाट नै दुई थरीका विचार आएकाले त्यसबारे छलफल भईरहेको जानकारी दिए ।
यद्यपि उनले विज्ञापन संघलाई उद्योगको रुपमा स्थापित गर्नका लागि भने सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । गत साउन १ गते देखिनै लागू गर्ने भनिएपनि तयारी नपुगेको भन्दै सरकारले अहिले सम्म क्लिन फिड निति लागु गर्न सकेको छैन ।




