यस्तो रह्यो सरकारको ६ महिनाको उपलब्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यस्तो रह्यो सरकारको ६ महिनाको उपलब्धि

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरेको छ । बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

२०७९ पुस ११ गते १ सय ६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । पुस २८ गते २ सय ६८ जना सांसदले उहाँलाई विश्वासको मत दिएका थिए ।

सरकारले छ महिनाको अवधिमा गरेका कार्य ७७ बुँदामार्फत सार्वजनिक गरेको छ । समावेशी सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सवलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भ्रष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवद्र्धनलाई सरकारले आफ्नो मुख्य उपलब्धि ठानेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद् गठन भएको ।

उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाव तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाएको सरकारको दाबी छ । त्यसैगरी राजश्व संकलन बृद्धि गरेको, उद्देश्यअनुसार सञ्चालन हुन नसकेका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विकास समिति तथा बोर्डहरुलाई एक आपसमा गाभ्ने तथा खारेज तथा पुनः संरचना गर्ने प्रक्रिया सुरु भएको, लघुवित्त र सहकारीमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरि काम थालेको, विदेशी लगानीतर्फ ३४ अर्ब ५८ करोड लगानी र झण्डै १५ हजार रोजगारीको सिर्जना सुनिश्चित भएको सरकारको दाबी छ । कृषि क्षेत्र सुधारको एकीकृत कार्ययोजना तयार गरिएको, रासायनिक मलको सुनिश्तित भएको सरकारको भनाइ छ । त्यसैगरी ६ सय ४२ भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गरिएको, स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि कार्यान्वयनमा ल्याइएको, काठमाडौ–तराई–मधेश द्रूतमार्ग सडक आयोजनाको कूल कार्यको २३ प्रतिशत भौतिक प्रगति भएको, नेपाल र भारतबीच दश बर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्नेगरी दीर्घकालिन विद्युत व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको, नेपाल र बंगलादेशबीच ४० मेगावाटसम्म विद्युत निर्यात गर्न नेपाल, भारत तथा बंगलादेशबीच विद्युत विक्री सम्झौता हुने प्रक्रियामा रहेको विषयलाई सरकारले आफ्नो उपलब्धि ठानेको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको, पर्यटको संख्या उल्लेख्य बृद्धि भएको, दुर्गम क्षेत्रसहित देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ५५ लाख विद्यार्थीका लागि शैक्षिकसत्र सुरु हुनुअगावै निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको सरकारको दाबी छ ।

आविष्कार, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन र प्रबद्र्धन गर्न बजेटमा १ अर्ब रकमको कोष व्यवस्था गरिएको, सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई कुल शैयाको १० प्रतिशत विपन्न, असाहय, बेवारिसे विरामीको निःशुल्क उपचारका लागि प्रदान गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको, कीर्तिपुरस्थित क्रिकेट स्टेडियमा फ्लड लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको विषयलाई ६ महिने उपलब्धिको रुपमा सरकारले ब्याख्या गरेको छ । सामाजिक सुरक्षा कोषमा नयाँ रोजगारदाता सूचीकृत भएको, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ विदेश पठाउने प्रकरणको निष्पक्ष र तथ्यपरक छानविन गरी दोषिहरुलाई कानूनी दायरामा ल्याएको, शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने सुराकी खर्चसम्बन्धी व्यवस्था खारेज गरिएको, तथा नागरिकता ऐन कार्यान्वयमा आएको सरकारको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);