कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, एमालेका कार्की नेतृत्वको सरकार अल्पमतमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय, एमालेका कार्की नेतृत्वको सरकार अल्पमतमा

काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय पदाधिकारीको मंगलबार बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशले जनाएको छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । बैठकले आजकै मितिबाट एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाइएको छ । प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्षको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको हो । केन्द्रको निर्देशन अनुसार नै माओवादीले कोशी प्रदेशमा सरकार छाड्ने र समर्थन पनि फिर्ता भएको हो ।

माओवादीले सरकार छोड्ने निर्णय लिएसँगै  मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ । कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन र केन्द्रको सत्ता गठबन्धन अनुसार अघि बढ्न माओवादीलाई दबाव दिँदै आएका थिए । प्रदेश सभामा एकमात्र सिट रहेको जसपा भने सरकारबाट बाहिरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले मुख्यमन्त्री कार्कीसँग एमालेका ४०, माओवादीका १३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन छ । अहिले विपक्षमा कांग्रेसका २९, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद मात्रै छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);