कोशीमा सत्ता चलखेल सुरु, एमाले र माओवादीले सरकारलाई दिएको समर्थन लिए फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कोशीमा सत्ता चलखेल सुरु, एमाले र माओवादीले सरकारलाई दिएको समर्थन लिए फिर्ता

काठमाडौं,२७ चैत्र । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् । लामो छलफलपछि एमाले र माओवादीका नेताहरुले सोमबार चारबुँदे निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । निर्णय अनुसार माओवादीले संसदीय दलको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

अब एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबीयुक्त निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी छ । कोशीका मुख्यमन्त्री केदार कार्की २७ असोजमा संविधानको धारा १६८ (५) अनुसार नियुक्त हुनु भएको हो । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा पर्ने प्रष्ट भएपनि नयाँ सरकार गठनको बाटोबारे दलहरू अलमलमा परेको बेला यस्तो कदम चालिएको हो । माओवादीबाट वनमन्त्री बनेका गणेश उप्रेती, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र खानेपानी मन्त्री नारायण बुर्जामगरले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाउनु भएको हो ।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेश सभा सचिवालयमा दिएका छन् । यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा परिसक्नु भएको छ । संविधानको धारा १८३ (३) मा प्रदेश सभाको एक चौथाई सदस्यले अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनेर लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले त्यस्तो बैठकको मिति र समय तोक्नसक्ने व्यवस्था छ । साथै एमाले र माओवादीले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाउन समेत लिखित निवेदन दिएका छन् ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गर्नुभएको छ । कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो । सत्ता साझेदार दलहरूले सरकार फेरबदलको प्रकृया सुरु गरेपछि मुख्यमन्त्री कार्कीले झन्डै साढे १ महिनापछि प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न सिफारिस गर्नु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);