सन्दीपको मुद्दा अन्तिम सुनुवाइ भएर पनि फैसला किन रोकियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सन्दीपको मुद्दा अन्तिम सुनुवाइ भएर पनि फैसला किन रोकियो ?

काठमाडौं, ८ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो । तर अदालतले दुवै पक्षको बहस सुनिसकेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरीको जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश दिएको छ ।

न्यायाधीश पराजुलीको इजलासले किशोरीको जन्म दर्ता भएको भनिएको वडा कार्यालयको सक्कलै फाइल हेरिसकेपछि मात्रै यो मुद्दाको अन्तिम किनारा लगाउने निर्णय लिएको हो । यो प्रकरणमा यसअघि वडा कार्यालयले अदालतलाई जन्मदर्ताको प्रतिलिपिसहित जवाफ पठाएको थियो । तर यस पटक अदालतले उक्त जन्मदर्ताको सक्कलै फाइल मगाएको हो । सर्वोच्च अदालतले यो मुद्दाको अन्तिम टुंगो फास्ट ट्रयाकमा टुंग्याउन निर्देशनात्मक आदेश दिएको थियो ।

यसअघि अघिल्लो वर्ष भदौमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई गत पुस २९ गते २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो । त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);