युवा क्लबको अध्यक्ष देखि उपराष्ट्रपतिसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

युवा क्लबको अध्यक्ष देखि उपराष्ट्रपतिसम्म

ईमाउण्टेन । रामसहायप्रसाद यादव मुलुकको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । लामो समय शिक्षण सेवामा आवद्ध यादव मधेश केन्द्रित राजनीतिमा आवद्ध हुँदै उपराष्ट्रपति बन्नुभएको छ ।

मुलुकको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवको जन्म बाराको सिम्रौनगढ न.पा. वार्ड नं. ९ बसवरियामा वि.सं. २०२७ सालमा भएको थियो । उहाँले २०४३ सालमा श्री कंकाली मा.वि. सिम्रौनगढ, बाराबाट एस एल सी उत्तीर्ण गर्नुभएको थियो । भारतको पटनाबाट बी.एस्सी र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजबाट २०५५ सालमा बी.एड पास गर्नुभयो । यादवले वि.सं. २०४६ देखि २०५२ साल सम्म श्री सरस्वती नवयुवक क्लबको अध्यक्ष र बाराको जिल्ला शिक्षा समिति सदस्य भएर काम गर्नुभयो । वि.सं. २०४८ सालमा शिक्षण पेशामा प्रवेश गर्नुभएका यादवले २०६४ साल फागुन १६ गते शिक्षक पदबाट राजिनामा दिनुभएको थियो । यादवको औपचारी रुपमा राजनीतिमा प्रवेश वि.सं. २०४७ सालमा भयो ।

सुरुवाती समयमा उहाँले नेपाल शिक्षक मंच, केन्द्रीय समितिको कोषाध्यक्षको जिम्मेवारी वहन गर्नुभयो । वि.सं. २०५० सालमा वीरगंजमा भएको नेपाल सदभावना पार्टीको तेस्रो महाधिवेशनमा यादव पर्यव्यक्षक भुमिकामा हुनुहुन्थ्यो । वि.सं. २०५९ सालमा भएको नेपाल सदभावना पार्टीको पाँचौ महाधिवेशनबाट राजविराजको महाधिवेशन प्रतिनिधि हुनुभयो । वि.सं. २०५९ सालमा मधेसी जनअधिकार फोरम, नेपालमा आवद्ध हुनुभएका यादव २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक अध्यक्ष हुनुभयो । २०६० सालमै मधेसी जनअधिकार फोरम नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । २०६२/०६३ को जनआन्दोलमा सव्रिmय सहभागि हुनुभएका यादव काठमाण्डौंमा गिरफ्तारीमा पर्नुभएको थियो । सोहि समयमा मधेश जन विद्रोहमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा भएको आन्दोलनको नेतृत्व गर्नुभएका यादव कैयौ पटक पक्राउ पर्नुभयो ।

२०६४ सालमा मधेसी जनअधिकार फोरम, नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता भएपछि पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुनुभएका यादव लगतै २०६४ सालको पहिलो संविधान सभामा समानुपातिक तर्फबाट संविधान सभा सदस्य बन्न सफल हुनुभयो । यादवले पहिलो संविधानसभामा अन्तराष्ट्रिय सम्वन्ध तथा संवैधानिक निकाय समितिको सदस्यको रुपमा समेत काम गरिसक्नुभएको छ । यादव वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षेत्र. नं. २ बाट निर्वाचित हुनुभयो । वि.सं. २०७६ सालमा समाजवादी पार्टी र रास्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य रहनुभएका यादव वि.सं. २०७८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरण मंन्त्री बन्नुभयो ।

वि.सं. २०७९ को प्रतिनिधिसभामा बारा क्षे.नं. २ बाट निर्वाचित हुनुभएका यादव जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता हुँदै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);