प्रधानमन्त्रीमा १७ पटक सम्म असफल भएका थिए पौडेल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्रीमा १७ पटक सम्म असफल भएका थिए पौडेल

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

बिहीबार भर्खरै सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याउनु भयो भने एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याउँनुभएको हो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म वि.सं. २००१ साल असोज २९ गते शनिबार तनहुँको मिर्लुङ्, बाहुनपोखरामा पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको सुपुत्रका रुपमा भएको थियो । त्यतिबेला उहाँको परिवार कृषिमा आश्रित मध्यमवर्गीय थियो । परिवारमा शिक्षालाई महत्व दिइन्थ्यो । त्यसैले पौडेलले सानैदेखि पढाईलेखाईको वातावरण पाउनुभयो । काठमाडौं आएर विद्यालय तहबाटै शिक्षा लिन थाल्नुभयो । उहाँले संस्कृति साहियत्वमा २०२४ मा शास्त्री र नेपाली साहित्यमा २०२७ मा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।

२०१५ साल बाट नै विद्यार्थीकालमा पौडेल राजनीतिमा सक्रिय हुनुभएको थियो । नन्दीरात्री माविमा विद्यालय तहको शिक्षा लिदै गर्दा त्यहाँको विद्यार्थी संघको अध्यक्ष हुनुभयो । रानीपोखरी मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष बन्नुभयो । त्यही बेला २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै आन्दोलनको नेतृत्व गर्नुभयो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले सत्ता हालतमा लिई तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायत नेताहरुलाई जेलमा हालेपछि पौडेलले प्रजातान्त्रिक आन्दोलनमा सरिक हुने प्रेरणा प्राप्त गर्नुभयो । त्यसपछि उहाँ लामो समय विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । २०२७ सालमा नेपाल विद्याथीं संघको संस्थापक सदस्य हुनुभयो । २०३४ सालमा नेपाली काँग्रेस तनहुँ सदस्य भएर पार्टी राजनीतिमा सक्रिय हुनुभयो । २०३६ सालमा काँग्रेस तनहुँ जिल्ला उपसभापति बन्नुभयो । २०३७ सालमा जनमतसंग्रहका सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठिन नेपाली काँग्रेस तनहुँ समितिको संयोजक हुनुभयो । २०४० मा काँग्रेसको केन्द्रीय सदस्य भएर प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउनुभयो । २०६२ देखि २०६४ सम्म काँग्रेसको महामन्त्री, २०६४ देखि २०७२ मा काँग्रेसको उपसभापति, २०६४ देखि २०७० सम्म काँग्रेस संसदीय दलको नेता र २०७२ मा काँग्रेस केन्द्रीय कार्यवाहक सभापति बन्नुभयो ।

राजनीतिक जीवनमा पौडेलका लागि काँग्रेस सभापति र प्रधानमन्त्री बन्ने अवसर एक–एक पटक आएको थियो । तर, दुवै अवसरमा उहाँ असफल हुनुभयो । प्रधानमन्त्रीका लागि डा. बाबुराम भट्टराईसँग उहाँको संसदमा १७ पटक प्रतिष्पर्धा हुँदा १६ पटक निर्णय हुन सकेन । १७औं पटक पौडेल भट्टराईसँग पराजित हुनुभयो । काँग्रेस सभापतिका लागि भएको प्रतिष्पर्धामा शेरबहादुर देउवासँग १३औं महाधिवेशनमा पराजित हुनुभयो । तर, उहाँका लागि राष्ट्रपति बन्ने अवसर गुमेन । नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गरी देशको तेस्रो राष्ट्रपति निर्वाचित हुनुभयो ।

पौडेलले राजनीतिमा लागेर दुःखदायी क्षणहरु भोग्नुभएको छ । तैपनि उहाँले अविचलित रही राजनीतिमा आफूलाई समर्पित गर्नुभयो । २०१८ मा भरतपुर कब्जा गर्ने काँग्रेसको सशस्त्र गतिविधिमा संलग्न भएको आरोपमा एक महिना हिरासतमा राखिनुभयो । २०२१ मा एक वर्ष, २०२३ मा केही दिन, २०२४ मा पोखरामा गिरफ्तार भई १५ महिना, २०२६ मा एक वर्ष, २०२७ मा ३ महिना हिरासत र जेल समेत पर्नुभयो । २०२८ बाट २०३२ सम्म ४ वर्ष जेल पर्नुभयो । २०३४ मा पुनः गिरफ्तारमा परी १० महिना हिरासतमा पर्नुभयो । २०३६ सालमा गिरफ्तार भई ६ महिना हिरासतमा पर्नुभयो । २०३८ सालमा ६ महिना, २०४२ मा ९ महिना, २०४५ मा ३ महिना, २०४६ मा ५ महिना हिरासतमा पर्नुभयो । पञ्चायतकालको अधिकांश समय उहाँको हिरासत र जेलमा बित्यो । २०५९ सालमा पौडेल शाही कदमपछि एक वर्ष नजरबन्द र हिरासतमा पर्नुभयो । २०६२÷६३ को दोस्रो जनआन्दोलनका दौरान पटकपटक गिरफ्तार गरी हिरासतमा राखिनुभयो ।

पौडेल २०४८ देखि २०७० सम्म लगातार तनहुँबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । २०७४ को निर्वाचनमा पराजित हुनुभएका उहाँ २०७९ मा फेरि तनहुँबाटै निर्वाचित हुनुभयो । २०४८ देखि २०५१ सम्म स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । सोही कार्यकालमै २०४९ देखि २०५१ मा कृषि मन्त्रालय पनि सम्हाल्नुभयो । २०५१ देखि २०५६ सम्म पौडेल प्रतिनिधि सभाको सभामुख हुनुभयो । २०५६ मा उपप्रधानमन्त्रीसहित सूचना सञ्चार र स्थानीय विकास मन्त्री बन्नुभयो । २०५६ देखि २०५८ सम्म उपप्रधान तथा गृहमन्त्री बन्नुभयो । २०६३ देखि २०६४ सम्म गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा उहाँ शान्ति तथा पुनः निर्माण मन्त्री बन्नुभयो ।

पौडेलले दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको छ । उहाँका राजनीतिक र साहित्यिक कृतिहरु प्रकाशित छन् । जसमध्ये नेपाली काँग्रेसको संक्षिप्त इतिहास, कृषि क्रान्ति र समाजवाद, अभिशप्त इतिहासलगायत छन् । पौडेललाई शालिन र निष्ठावान नेताका रुपमा चिनिन्छ । उहाँ समाजवादी चिन्तक र प्रयोगकर्ताका रुपमा पनि राजनीतिकवृत्तमा परिचित हुनुहुन्छ ।

नेपाली काँग्रेसभित्र विवाद उत्कर्षमा पुग्दा पौडेलले सधै मध्यमार्गी भूमिका निभाउनुभयो । उहाँ जस्तोसुकै कठिन घडीमा पनि काँग्रेसको मूलधारलाई नत्यागी अड्नसक्नुभयो । शान्ति प्रक्रियाका दौरान होस् या पछिल्लो समय दलीय गठबन्धनमा विवाद आउँदा नै किन नहोस् पौडेलको भूमिका समन्वयकारी नै रह्यो सहमति र सहकार्यका पक्षपातीका रुपमा आफूलाई उभ्याउनुभयो । उहाँ विस्तृत शान्ति सम्झौताका मस्यौदाकार समेत हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);