लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री केसी : माओवादी जनमुक्ति सेनाका डिभिजन कमिसार र वाईसीएल इन्चार्जदेखि मुख्यमन्त्रीसम्म | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री केसी : माओवादी जनमुक्ति सेनाका डिभिजन कमिसार र वाईसीएल इन्चार्जदेखि मुख्यमन्त्रीसम्म

मसाल, एकता केन्द्र, माओवादी, वैद्य हुँदै माओवादी केन्द्र

बिमल क्षेत्री ,
रुपन्देही
। लुम्बिनी प्रदेशको फेरिएको राजनीतिमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री पदमा नियुक्त भएका छन् । चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थन सहित गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।

लामो समय माओवादी सशस्त्र युद्धमा हुँदा जनमुक्ति सेनाका कम्पनी कमिसार र वाईसीएल इन्चार्ज रहेका रोल्पाका कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रोल्पाको लिवाङ नगरपालिका स्थायी घर भएका ५१ वर्षीय केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए । केसी अब गठबन्धनको सहमति अनुसार ८ महिनासम्म मुख्यमन्त्री बन्ने छन् भने बाँकी ८ महिना भने नेपाली कांग्रेसका विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

केसीको राजनीतिक यात्रा

२०४६ सालमा नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका केसी २०४८ देखि ५० सम्म शिक्षण पेशामा आवद्ध थिए । २०५० देखि ५२ सालसम्म नेकपा एकता केन्द्रको रोल्पा इलाका सेक्रेटरी भएका केसी २०५५ सालदेखि माओवादी केन्द्रमा आवद्ध भई एक वर्ष माओवादी केन्द्रको दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरीको जिम्मेवारी निभाइ सकेका छन् । २०५६ देखि ५७ सम्म भेरी कर्णाली क्षेत्रीय ब्युरो सदस्य हुंदै सोही वर्ष उनी ‘जनमुक्ति सेना’को कम्पनी कमिसार भएका थिए । २०५७ मा नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित भई २०५९ सालमा पोलिटब्युरो सदस्य, बागमती–नारायणी ब्युरो इन्चार्ज बने ।

२०६० सालमा भारतको पटनाबाट गिरफ्तार भएका उनी २०६३ सालमा रिहा भएका थिए। २०६३ सालदेखि ६८ सालसम्म जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार बनेका केसी नारायणी, भेरी, कर्णाली, सेती र महाकाली ब्युरो इन्चार्ज पनि बने । त्यसपछि उनी माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलको इन्चार्ज पनि भए ।

२०५९ सालमा नेकपा माओवादीमा फुट आयो । फुटपछि केसी मोहन वैद्य,रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव सहित वैद्य माओवादीको पार्टीमा लागे र उक्त पार्टीको स्थायी समिति सदस्य बने । वैद्यको पार्टीमा केसी धेरै वर्ष टिक्न सकेन र २०७३ मा फेरि माओवादी केन्द्रमै फर्किए । माओवादी केन्द्रको उनी केन्द्रीय कार्यालय सदस्य बने ।

२०७३ मा पुनः माओवादीमा फर्किएर प्रदेश सभा निर्वाचनमा रोल्पा १ (क) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता भए । महेन्द्र वहुमुखी क्याम्पस दाङमा प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका केसीले ताराकुमारी केसीसंग विवाह गरे । उनका एक छोरी र एक छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);