अवसर र चुनौति दुवैलाई वाम गठबन्धनको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अवसर र चुनौति दुवैलाई वाम गठबन्धनको सरकारले सामना गर्नुपर्छ : प्रचण्ड

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायीत्व कायम गरि मुलुकलाई सम्वृद्धिको बाटोमा उन्मुख गराउने विषय वाम गठबन्धन सरकारका लागि अग्नि परीक्षा भएको बताएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब बन्ने बाम गठबन्धनको सरकारका लागि राजनीतिक स्थायीत्व काम गरि मुलुकलाई आर्थिक सम्वृद्धि तर्फ लैजाने सवाल एउटा अग्नि परीक्षा भएको बताए ।

शान्ति, सुशासन र सम्वृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा उत्तिकै रहेको बताउँदै उनले ऐतिहासिक चुनौति र अवसर दुवै वाम गठबन्धनको सरकारका अगाडि आएको बताए ।

सम्वृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उनले बताए । राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफुहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए ।

एमाले उपाध्यक्ष गौतमको पुस्तकमा पनि नेपालमा विकासको नया गति सुरु भएन भने देश निकै अप्ठ्यारोमा पर्न पनि सक्छ भन्ने मान्यता अनुसार विकासको १० बर्षै कार्ययोजना प्रस्तुत भएको आफुले पाएको अध्यक्ष दाहालले बताए ।

नेपालको भौगोलिक, सांस्कृतिक तथा सबै भाषा भाषिको परम्पराको संस्लेषण गर्दै विकासको मोडल प्रस्तुत गरिएको पुस्तकमा मौलिकता, श्रृजनशिलता का साथै मेहनत पनि परेको भन्दै प्रशंसा गरे ।

दोश्रो विश्वयुद्धपछि नेपाल जस्तो सानो र ठुला राष्ट्रले गरेको विकासको फड्कोको विषय पनि उठान गरिएको भन्दै उनले मुलुक राजनीतिक अन्यौलमा रुमलिईरहने परिस्थितिको अन्त्य गर्न नसक्ने हो भने देश माथि उठ्न नसक्ने र यथास्थितमा नै रहने संसय रहिरहने उल्लेख गरे।

अध्यक्ष दाहालले पुस्तकमा उल्लेख भएको संघियताले मुलुकलाई फाईदा गर्दैन भन्ने प्रसंग त्यत्ति उपयुक्त नरहेको भन्दै केही भाषागत शैली र परिघटनामा असन्तुष्ठी जनाए ।

अध्यक्ष दाहालले एमाले उपाध्यक्ष गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोर्नुपरेको पराजयप्रति सहानुभुति प्रकट गरे । यद्यपि उनले गौतमको नेपाल नवनिर्माण गर्ने चाहाना पुरा गराउने सवालमा उपयुक्त वातावरण बनाउने प्रतिवद्धता जाहेर गरे ।

एमाले उपाध्यक्ष गौतमले मुलुकको आर्थिक विकासमा केन्द्रित भई लेखेको ‘नेपाल नव निर्माण महाअभियान’ पुस्तक शनिबार राजधानीमा विशेष समारोहकाबीच सार्वजनिक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);