दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरुको मासिक पारिश्रमिक कटौति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दोहोरो सुविधा लिँदै आएका प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यहरुको मासिक पारिश्रमिक कटौति

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिईदै आएको मासिक पारिश्रमिक कटौति गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो । प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताउनु भयो । उहाँले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सृजनाशील क्षेत्रमा लगानी गर्ने योजना रहेको पनि जानकारी दिनु भयो । त्यस अवसरमा प्रतिष्ठानका पदाधिकारीहरुले आफूहरुले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गर्नु भएको थियो । नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरुले नै यस्तो निर्णय लिएको पनि कुलपति राईले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अव यो नैतिकतासँग पनि गाँसिएको विषय हो । दोहोरो सुविधा लिने भन्ने कुरा चाँही के हो भने जति भेटे पनि जहाँ भेटे पनि खानैपर्ने प्रवृत्ति नेपाली प्रवृत्तिको रुपमा देखा प¥यो । यो प्रवृत्ति नैतिकतासँग पनि गाँसिएको विषय हुनाले पनि अव नेपाल प्रज्ञा प्रतिष्ठानले चाँही यही हाम्रो कार्य समितिको समयबाट यो कामको सुरुवात गरौं भन्ने निर्णय गरेको हो । किनभने यो त प्रज्ञा प्रतिष्ठान हो । यसले हामीलाई संस्कार सिकाउँछ ।

भाषा, साहित्य र संस्कृतिको कुरा मात्रै होइन । यसले त मानवीय संस्कृति पनि सिकाउँछ । नेपाली हुनुको उन्नत नैतिकता पनि सिकाउ, उदाहरण पनि दिऊ भनेर हामीले आफूले पनि सो घोषणा गरेका छौं । अव हामी एउटा प्रक्रियामा जान्छौं दोहोरो सुविधा लिनेहरु को–को हुनुहुन्छ ? त्यो त अवश्य थाहा हुन्छ नि । २० जनालाई यो हाम्रो एकेडेमीको स्रोतबाट बाँड्दा खेरी १ करोड २० लाख भन्दा बढि हुन्छ वार्षिक । यसमा सरदर आधि मात्रै बच्यो भने पनि अथवा आधि मात्रै त्यो स्रोत दोहन गर्न दिइएन भने हामीले त्यो रकम एउटा प्राज्ञिक क्षेत्रमा राम्रै ढंगले काम गर्न सक्छौं । प्राज्ञिक क्षेत्रमा, सृजनशील क्षेत्रमा लगानी गर्नेवाला छौं ।’

हाल प्रतिष्ठानमा आजीवन सदस्य रहनु भएकाहरुले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका थिए । प्रतिष्ठानबाट वार्षिक करिव १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौति गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौं भन्ने भावना रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

त्यसैगरी प्रतिष्ठानका परिषद सदस्यहरुको कार्य विभाजन पनि गरेको छ । जस अनुसार कुलपति राईलाई संस्कृति, लोकवार्ता तथा मौलिक ईतिहास विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी बाल साहित्य विभागको जिम्मेवारी उपकुलपति विमल निभा, साहित्य प्राज्ञ डा. मधुसुदन गिरी, दर्शन शाष्त्र विभाग प्राज्ञ डा. कृष्णराज अधिकारी, साहित्य (मातृभाषा) प्राज्ञ राजन मुकारुङ, साहित्य पद्य÷काव्य विभागको जिम्मेवारी प्राज्ञ बाबा बस्नेत दिइएको छ । प्रा. डा. कौशिला रिसाललाई सामाजिक शाष्त्र, प्राज्ञ हंसावती कुर्मीलाई अनुवाद, प्राज्ञ अमर न्यौपानेलाई साहित्य (गद्य), प्राज्ञ त्रैलोक्यमान बनेपालीलाई भाषा (मातृकोष, कोश र व्याकरण), र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई भाषा (कोष र व्याकरण) विभाग हेर्ने जिम्मेवारी दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);