काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको बुधवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । शुक्रवारसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडांै महानगरले सञ्चालन गरेको १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीद्वारा सिर्जित कलाकृति राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला क्षेत्रमा पुस्तान्तरणको आवश्यक रहेको बताउनु भयो । उहाँले कला क्षेत्रमा ‘अघिको, अहिलेको र अबको’ पुस्ताबीच सीप हस्तान्तरणको अवधारणामा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अघिल्लो पुस्ताले सिकाएको सीप अहिलेको पुस्ताले ग्रहण गरेको र अहिलेको पुस्ताले अबको पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । यसको लागी प्रतिष्ठान र काठमाडौं महानगरपालिकाबीच सहकार्य भएको उहाँले जानकारी दिनुभयो । यो सहकार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कला क्षेत्रमा सीप सिकाउन महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाई छ । काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले महानगरले ‘गरिखाने शिक्षा र महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत १५ हप्ते स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको बताउनु भयो । तालिममा सहभागी विद्यार्थीको सीप र कलालाई उजागर गर्न प्रदर्शनीको आयोजना गरिएको उहाँको भनाई छ । महानगरले विद्यालय तहदेखि नै कला शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको हो ।
तालिममा विद्यार्थीले सिकेको सीपलाई भविष्यमा पेशा वा व्यवसायका रूपमा अघि बढाउने उहाँको विश्वास छ । आगामी वर्ष प्रदर्शनीसँगै प्रतिष्पर्धात्मक प्रतियोगिता पनि सञ्चालन गर्ने उहाँले बताउनु भयो ।ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा महानगरले यो तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरमा ८३ वटा विद्यालय छन् । तीमध्ये ५९ वटा माध्यामिक विद्यालय छन् । उनीहरुको मागको आधारमा महानगरले विभिन्न सीपमुलक तालिम संचालन गर्ने गरेको छ ।




