काठमाडौं, २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज शपथ लिंदैछन् । आज दिउँसो १ बजे मन्त्रीहरुको शपथ कार्यक्रम रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले आफूलाई समर्थन गर्ने दलका सातजनालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् । यसअघि तीन जना विना विभागिय मन्त्रीमा नियुक्त भइसकेका छन् । गिरीको मन्त्रिमण्डलमा नेकपा एमालेबाट चार, नेकपा माओवादी केन्द्रबाट तीन, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त हुने भएका छन् ।
जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सो प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्रालय सम्हालेका छन् । नयाँ मन्त्रिमण्डल विस्तारसँगै १० सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ । गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए।