लुम्बिनी प्रदेशः बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

लुम्बिनी प्रदेशः बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । लुम्बिनी प्रदेशमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने जनाएको छ । मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने कार्यालयको अनुमान छ । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस गरि तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।

एमालेका उम्मेदवार कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका हुन् । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुन्छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा र जनमतले ३÷३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १÷१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन् । तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);