लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु

बुटवल । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा बिहान सवा ९ बजेदेखि मतदान सुरु भएको छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेका छन् । चारवटा मतदानस्थल निर्माण गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिन लागेको हो ।

यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिष्पर्धा हुँदैछ । जसअनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहेका छन् ।

एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको छ । प्रदेश सांसदको मतभार तीन हजार ८८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार तीन हजार ८७० रहेको छ । मतदान अपरान्ह ३ बजेसम्म जारी रहने निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);