चीनले अब अन्तर्राष्ट्रिय यात्रुलाई क्वारेन्टाइनमा नराख्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीनले अब अन्तर्राष्ट्रिय यात्रुलाई क्वारेन्टाइनमा नराख्ने

एजेन्सी । चीनमा लाखौंको संख्यामा कोरोना संक्रमण देखिएको छ । यसैबीच, चिनफिङ सरकारले शून्य कोभिड नीतिलाई थप खुकुलो बनाएको छ। चीन सरकारले विदेशी पर्यटकलाई राहत दिएको छ । चीनले जनवरी ८ देखि विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्न नपर्ने बताएको छ । मार्च २०२० मा चीनमा विदेशी यात्रुलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो ।

यससँगै चीनले सबै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको छ । तीन वर्षअघिको जस्तै अब सबै देशका यात्रु चीन आउन र त्यहाँ घुम्न सक्नेछन् । चिनियाँ सरकारको यो निर्णयबाट सबै देशका विद्यार्थी लाभान्वित हुने सम्भावना छ ।

चीन सरकारले कार्यालय, कारखाना र बजार पनि खोलेको छ । सोमबार राजधानी बेइजिङ र सबैभन्दा ठूलो सहर शाङ्घाईको मेट्रो रेल खचाखच भरिएको देखियो । मानिसहरू मास्क लगाएर र स्यानिटाइजर प्रयोग गरेर यात्रा र व्यापार गरिरहेको देखियो।

चीनमा शून्य कोभिड नीति खुकुलो पारिएपछि कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । डिसेम्बर ७ मा, राष्ट्राध्यक्ष सी चिनफिङले शून्य कोविड नीतिका प्रावधानहरूलाई खुकुलो पार्ने घोषणा गरे । त्यसपछि चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढ्न थाल्यो । चीनमा यतिबेला करोडौंको संख्यामा कोरोना संक्रमितहरु आइरहेका छन् र ठूलो संख्यामा मानिसको मृत्यु भैरहेको दाबी गरिएको छ ।

अर्कोतर्फ चीनको राष्ट्रिय स्वास्थ्य आयोगले संक्रमितको बारेमा जानकारी सार्वजनिक गर्न निषेध गरेको छ । चीनले लगातार छैटौं दिन कोभिडबाट कसैको मृत्यु नभएको घोषणा गरेको छ। तर, अस्पतालमा ठूलो संख्यामा बिरामी आउने गरेको चिकित्सक बताउँछन् । विरामीको संख्या विगतको तुलनामा पाँचदेखि छ गुणाले बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);