काठमाडौं । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै प्रदेशमा पनि सत्तासमिकरणमा फेरबदल आउने भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको बलियो समर्थन पाएका पुष्पकमल दाहाल प्रचण्डलाई देशको ४४औं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डलाई एमालेसँगै, रास्वपा, राप्रपा, जनता समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् ।
गठबन्धन फेरीएसँगै संघीय सरकारदेखि प्रदेशसम्मको सत्ता परिवर्तन हुँदैछ । एमालेको समर्थनमा सरकारको नेतृत्व प्रचण्डले गरिरहँदा सातप्रदेशमा नेपाली कांग्रेसको सरकार नबन्ने निश्चित भएको छ । प्रतिनिधि सभामा सबैभन्दा धेरै सिट जितेर पहिलो भएको दल कांग्रेस अबको पाँच वर्ष प्रमुख प्रतिपक्षी दलको रुपमा बाहिर बस्नेछ ।
सात प्रदेश मध्ये एमालेले ३ प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । प्रदेश १, कर्णाली र गण्डकीमा एमालेको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको हो ।
एमाले स्थायी कमिटी सदस्यहरु प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ।
मधेसमा १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि आवश्यक पर्ने ५४ सांसदमा एमालेको २३ छ भने कांग्रेसको २२ सांसद छन् । एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र जनमत मिल्दा ६३ सांसद पुग्छन् । सुुदुरपश्चिम र बाग्मतीमा माओवादीको सम्भावना देखिन्छ ।