सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गठबन्धनभित्र मुख्यमन्त्रीको उम्मेदवार टुंगो लाग्न बाँकी, नेपाली कांग्रेस सातै प्रदेशमा सत्ता बहिर रहने ।

काठमाडौं, ८ पुष । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको सिटको बाँडफाँट गरेसँगै दुई नम्बर वाहेकका प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ । कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा वाम गठबन्धनभित्र छलफल हुन बाँकी रहँदा नेपाली काँग्रेसले भने सात वटै प्रदेशमा प्रतिपक्षमा वस्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेसँगै सबैभन्दा ठूलो दल नेकपा एमाले माओवादी केन्द्रसँग छलफलको तयारीमा जुटेको छ । माओवादी केन्द्रसँग प्रदेश सरकारको नेतृत्वबारे छलफल गरिने एमाले नेताहरुले बताएका छन् । २ नम्बर प्रदेश वाहेकका ६ वटा प्रदेशमा वहुमत ल्याएको वाम गठबन्धनभित्र कुन दलले कुन प्रदेशको नेतृत्व गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । यद्यपि, एमाले र माओवादीका कतिपय केन्द्रीय नेताहरुले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । एमाले सचिव भीम आचार्य र अर्का नेता शेरधन राईले मुख्यमन्त्रीको दाबी गरेको प्रदेश एक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापित लगायतले मुख्यमन्त्रीको दाबी गरेको तीन नम्बर प्रदेशमा एमाले एक्लैले सरकार गठन गर्न सक्ने अवस्था छ । प्रत्यक्ष र समानुपातिक गरी ९३ सिट रहेको प्रदेश १ मा एमालेले स्पष्ट वहुमत अर्थात ५१ सिट ल्याएको छ भने १ सय १० सिट रहेको तीन नम्बर प्रदेशमा ५८ सिट हासिल गरेको छ ।

प्रदेश २ मा भने मधेश केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले वाम गठबन्धनलाई पछाडि पारेका छन् । १ सय ७ सिट रहेको यो प्रदेशमा फोरम र राजपाले वहुमतका लागि आवश्यक ५४ सिट ल्याएका छन् । तर यी दुई दलमध्ये कुन दलले मुख्यमन्त्री लिने भन्ने टुंगो लाग्न बाँकी छ । ६० सिट रहेको ४ नम्बर प्रदेशमा वाम गठबन्धनले ३९ सिट ल्याएको छ भने ८७ सिट रहेको ५ नम्बर प्रदेशमा एमाले एक्लैले ४१ सिट ल्याएको छ । यो प्रदेशमा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्रीको मुख्य दाबेदार छन् । एमाले र माओवादीबीच पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति निर्वाचन पहिले नै भइसकेको छ । मुख्यमन्त्री बनाउने सहमतिपछि पोखरल प्रतिनिधिसभाको उम्मेदवारको दाबी छोडेर प्रदेशसभामा निर्वाचन लड्न तयार भएका थियो । यो प्रदेशमा माओवादी केन्द्रले १३ सिट जितेकाले पोखरेल मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै छ । प्रदेश नम्बर ६ मा ४० मध्ये ३३ सिट जितेकाले यहाँ पनि वाम गठबन्धनको सरकार बन्ने छ । तर सरकारको नेतृत्व एमाले र माओवादी कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । यो प्रदेशको मुख्यमन्त्रीमा एमालेका प्रकाश ज्वाला र माओवादीका महेन्द्रबहादुर शाहीले दाबी गर्दै आएका छन् ।

प्रदेश नम्बर ७ मा पनि वाम गठबन्धनले ५३ मध्ये ३९ सिट हासिल गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने निश्चित गरिसकको छ । दुवै पार्टीका प्रभावशाली नेताहरु मुख्यमन्त्रीको आकांक्षी रहेपनि माओवादीले सरकार गठन अगावै पार्टी एकता गरिनुपर्ने आवाज उठाउँदै आएकाले प्रदेशको मुख्यमन्त्रीको नाम टुंग्याउन वाम गठबन्धनलाई निकै चुनौतीपूर्ण हुने देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);