एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशील पार्टीले तीनतीन सिट पाए
काठमाडौं, ७ पुस ।
नर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या बाँडफाँड गरेको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी दलहरुले प्राप्त गरेको मतको आधारमा प्रदेशसभाको समानुपातिकतर्फको सिट संख्या बाँडफाँड गरिएको विवरण सार्वजनिक गरेको हो । प्रदेशसभा समानुपातिकतर्फको कूल २ सय २० सिटमा एमालेले ७५ सिट हात पारी पहिलो दल बन्न सफल भएको हो ।
त्यसैगरी काँग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम, नेपालले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले ३-३, राष्ट्रिय जनमोर्चाले पनि २ र नयाँ शक्ति पार्टी, नेपालले १ सिट प्रदेशसभाको समानुपातिकतर्फ प्राप्त गरेको पनि निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या पनि शुक्रबार नै पत्राचार गरी सम्बन्धित दलहरुलाई जानकारी गराएको छ ।
निर्वाचन आयोगका सचिव पौडेलले आफैले बुझाएको बन्दसूचि भित्र रहेर प्राथमिकताक्रम र समावेशी सिद्धान्तको आधारमा विजयी हुने उम्मेदवारहरुको नामावली एक हप्ता भित्र आयोगमा बुझाउन पनि दलहरुलाई निर्देशन दिइएको बताए ।
राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावली भित्र रहेर समावेशी सिद्धान्तको आधारमा रही सिट संख्या बाँडफाँड गरेर निर्वाचन आयोगमा नामावली बुझाउनुपर्ने हुन्छ।
प्रतिनिधिसभा निर्वाचन तर्फको समानुपातिक सिट संख्या पनि सार्वजनिक भएपछि प्रदेशसभा र प्रतिनिधिसभा गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सिट संख्या