प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न, ८० सिट जित्दै एमाले पहिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

 ८० सिट जित्दै एमाले पहिलो स्थानमा, ३६ सिट जित्दै माओवादी दोस्रो हुँदा कांग्रेस २३ सिटमा खुम्चियो

काठमाडौं, २७ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको सम्पूर्ण मत गणना बुधबार सम्पन्न भएको जनाएको छ ।  आयोगका प्रवक्ता नवराज ढकालले दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना बुधबार विहान १२ बजेसम्ममा सम्पन्न गरिसकिएको जानकारी गराएका छन् ।

मंसीर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभा प्रत्यक्षतर्फको ३ सय ३० वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ ।

मत परिणाम अनुसार नेकपा एमाले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ ८० सिट प्राप्त गरी पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ३६, नेपाली काँग्रेसले २३, राष्ट्रिय जनता पार्टी, नेपालले ११ र संघीय समाजवादी फोरम, नेपालले १० सिट प्राप्त गरेको छ ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ नयाँ शक्ति पार्टी, नेपालले १, नेपाल मजदुर किसान पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र १ जना स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

यता, प्रदेशसभा प्रत्यक्षतर्फ पनि एमालेले १ सय ६८ सिट प्राप्त गरी पहिलो दल बन्न सफल भएको छ । प्रदेशसभा प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रले ७३, नेपाली काँग्रेसले ४१, संघीय समाजवादी फोरम, नेपालले २४, राष्ट्रिय जनता पार्टी, नेपालले १६, स्वतन्त्र ३, नयाँ शक्ति पार्टी, नेपालले २, राष्ट्रिय जनमोर्चाले २, नेपाल मजदुर किसान पार्टीले १ सिट प्राप्त भएको छ । समानुपातिकतर्फ प्रत्यक्षतर्फ १७ जना महिला उम्मेदवार विजयी हुनु भएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारहरुको घोषणा भने १० भित्र गरिसक्ने पनि स्पष्ट पारेको छ । निर्वाचन आयोगका प्रवक्ता ढकालले विहिबारसम्म समानुपातिकतर्फको मतगणना सम्पन्न हुने र सबै प्रक्रिया पूरा गरेर विजयी उम्मेदवार घोषणा गर्न १० दिन लाग्ने बताए ।

३ प्रतिशत भन्दा बढि मत ल्याउने दलहरुको मत परिणामको आधारमा सिट संख्या निर्धारण गरेर निर्वाचन आयोगले दलहरुलाई पत्राचार गरेपछि दलहरुले कम्तीमा ३३ प्रतिशत महिला र अरु आरक्षित समूहहरु पनि पर्ने गरी निर्वाचन आयोगलाई बन्दसूचिमा पेश गरिएको उम्मेदवारहरुको सूचि पठाउनेछन । सोही सूचि अनुसार समानुपातिकतर्फ विजयी उम्मेदवार घोषणा हुने पनि निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता ढकालले बुधबार विहान १२ बजेसम्म समानुपातिकतर्फ ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएको पनि जानकारी दिनु भयो । हालसम्म समानुपातिक तर्फ पनि एमालेले १९ लाख ८९ हजार ५ सय मत ल्याएर अग्रता कायमै राखेको हो । एमालेलाई पछयाईरहेको नेपाली काँग्रेसले १९ लाख ४ हजार २ सय ८, नेकपा माओवादी केन्द्रले ७ लाख ६८ हजार ३७८, संघीय समाजवादी फोरम, नेपालले २ लाख ५२ हजार ६९८ मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनसम्बन्धि ऐन तत्काल पेश गर्न पनि सरकारलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका प्रवक्ता ढकालले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि ऐन नभएकै कारण निर्वाचनको तयारीको काम अघि बढन नसकेको पनि स्पष्ट पार्नु भयो ।

निर्वाचन प्रणालीमा दलहरुबीच विवाद उत्पन्न भएपछि सरकारले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि ऐन तयारी पार्न नसकेको हो ।  संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न गरिसक्नु पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);