प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक, एमाले पहिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेले ४१, काँग्रेसले ४०, माओवादी केन्द्रले १७,  राजपा नेपालले ६ र फोरम नेपालले ६ सिट प्राप्त

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगको शुक्रबार बसेको पदाधिकारी बैठकले स्विकृत गरेलगत्तै प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको हो ।

संवैधानिक व्यवस्था अनुसार केही ढिला गरी प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिएको आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेलले जानकारी दिए ।

जस अनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् ।

आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए । संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

निर्वाचनमा भाग लिएका ४४ वटा दल राष्ट्रिय पार्टी बन्न सकेनन्

निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले स्मरण गराएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेलगत्तै राजनीतिक दलहरुलाई उम्मेदवारको अन्तिम नामावली विवरण पेश गर्न पत्राचार पनि गरेको छ । सोमबार अपरान्ह ५ बजेभित्र पेश गर्नेगरी उम्मेदवारको अन्तिम नामावली बुझाउन दलहरुलाई आग्रह गरिएको आयोगका सचिव पौडेलले बताए ।

१ तिहाई महिला प्रतिनिधित्व अनिवार्य

मंसीर ३ गते पेश गरेको सूचिमा आधारित रहेर दलहरुले कम्तिमा १ तिहाई महिला प्रतिनिधित्व हुनेगरी उम्मेदवार विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसमा त्रुटि देखिए सच्याउन २ दिनको समय पनि आयोगले दिएको छ । फागुन २ गते भित्र प्रतिनिधि सभा समानुपातिकतर्फको नामावली सार्वजनिक गर्ने र त्यसपछि प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी छ ।

आईतबार  राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण मत परिणाम राष्ट्रपति समक्ष पेश गरिने

आयोगका सचिव पौडेलले आईतबार अपरान्हसम्म राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण मत परिणाम राष्ट्रपति समक्ष पेश गर्न लागिएको पनि जानकारी दिए । राष्ट्रियसभामा पनि २७ सिटमा विजयी भएर एमाले पहिलो दल बन्न सफल भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभाको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले यसको परिणाम सार्वजनिक गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ । प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुनेवित्तिकै नयाँ सरकार गठन प्रक्रिया सूरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);