कांग्रेस संसदीय दलको नेतामा देउवालाई थापाको बलियो टक्कर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस संसदीय दलको नेतामा देउवालाई थापाको बलियो टक्कर

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सभापति देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बस्नुभएको छ । त्यस्तै, महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बन्नुभएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ ।

संस्थापन पक्षबाट देउवा निर्विकल्प दलको नेताको उम्मेदवार हुने पहिला नै पक्का भए पनि संस्थापनइतर समूहबाट कसलाई बनाउने भन्ने लामो छलफलपछि मनोनय दर्ता गर्नुभन्दा २ घण्टाअघि मात्रै महामन्त्री थापालाई अघि सार्ने निर्णय भएको हो । थापालाई अघि सार्ने कोइराला समूहको निर्णयले सभापति तथा प्रधानमन्त्री देउवासँग बलियो दावेदारी प्रस्तुत गरिएको संस्थापन समूहका नेताहरूले बताएका छन् ।

सहमहामन्त्री जीवन परियारले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दलको नेतामा टिमबाट एक जना त्यो पनि आम जनताको भावना समेट्ने युवालाई मात्रै उम्मेदवार बनाउने निर्णयले कांग्रेसका नेता कार्यकर्तामा सकारात्मक सन्देश प्रवाह भएको छ । यसले अर्को समूहमा भएका र कतै नखुलेका सांसदहरूले समेत परिवर्तनको पक्षमा मतदान गर्ने भएका छन् ।’ उहाँका अनुसार गगन थापाको पक्षमा नयाँ र युवा अनुहारहरू खुलेर लाग्न थालेका कारण दलको नेतामा थापाले जित्ने सम्भावना बढ्दै गएको छ ।

मंगलबार बिहान होटल बसेरामा बसेको संस्थापनइतर पक्षीय बैठकमा थापालाई साझा उम्मेदवार बनाउने निर्णय गरेपछि नेता प्रदीप पौडेलले पनि थापाकै पक्षमा समर्थन गर्ने निर्णय गर्नुभयो । केही दिनयता संस्थापनइतर समूहमै विभाजन देखिएका कारण मौन रहेका पौडेल सो समूहबाट एउटै उम्मेदवार बनेपछि सहयोग गर्ने निर्णयमा पुग्नुभएको एक सांसदले बताए ।

पौडेल, थापा र विश्वप्रकाश शर्मा एउटै मोर्चामा उभिएपछि संस्थापन पक्षका नेताहरूसमेत अलमलमा परेको उनको भनाइ छ । टिमका नेता डा। शेखर कोइरालाले समेत थापालाई अगाडि बढाएपछि यो समूहमा सांसदहरूको संख्या बढ्दै गएको सांसद प्रतिमा गौतमले बताउनुभयो । नयाँ पुस्ताका र जनतामाझ लोकप्रिय र आशा लाग्दा नेताहरू एकै ठाउँमा उभिएर राम्रो सन्देश दिएको उहाँले बताउनुभयो । पार्टीको १४ औं महाधिवेशनमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डासहित देउवाविरुद्व उभिएका डा। कोइरालाले महामन्त्री थापालाई अघि सार्ने निर्णयसँगै सामाजिक सञ्जाल र पार्टी पंक्तिमा प्रशंसा भइरहेको छ । यसले उक्त समूहलाई सशक्त बनाएको नेताहरूको भनाइ छ ।

मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए पनि बहुमत प्राप्त गर्न सकेन । यद्यपि, सत्ता गठबन्धनलाई निरन्तरता दिएर आफैं प्रधानमन्त्री बन्ने चाहना राखेका प्रधानमन्त्री एवं सभापति देउवालाई उहाँका समकालीन नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह र बिमलेन्द्र निधीले खुलेर सहयोग गर्ने अवस्था बनेको छ भने साथमा बीपी पुत्र डा। शशांक कोइरालाले समेत देउवालाई साथ दिने बताइसक्नुभएको छ ।

यसले अंक गणितमा देउवा नै अघि देखिए पनि सांसदहरूले आगामी सरकारलाई जनपक्षीय बनाउने गरी परिवर्तनको पक्षमा मतदान गर्ने कुरामा विश्वास लिएको संसदीय दलको नेताका उम्मेदवार एवं महामन्त्री गगन थापाले बताउनुभयो । उम्मेदवारीलगत्तै उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता गर्न अग्रह गर्दै पत्रकारहरूसँग भन्नुभयो– ‘सभापति देउवाले एकछिन शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा एउटा ऐतिहासिक निर्णय हुनेछ ।

म विश्वास गर्छु, अपेक्षा गर्छु र अनुरोध गर्छु सम्माननीय प्रधानमन्त्री श्रद्धेय नेता पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता गर्न आग्रह गर्न चाहन्छु । कांग्रेसभित्रको परिवर्तनको सन्देशलाई मनन गर्नका निम्ति नेताहरू रामचन्द्र्र पौडेल र प्रकाशमान सिंहलाई पनि आग्रह गर्दछु ।’

थापाले पार्टीलाई जीवन्तता दिन र कांग्रेसको नेतृत्वमा सरकार बनाएर जनतामा परिवर्तनको आभास दिलाउँदै आगामी पाँच वर्षका पार्टीको उचाइ बढाउनका लागि सबै सांसदहरूलाई परिवर्तनको पक्षमा मतदान गर्न अनुरोध गर्नुभएको छ । सबै सांसदहरूलाई आम मतदाताहरूलाई सम्झेर आम मतदाताको प्रतिनिधित्व गर्नेगरी संसदीय दलको नेतामा मत हाल्ने विश्वास व्यक्त गर्दै मनोनयनपश्चात् थापाले भन्नुभयो– ‘म नेपाली कांग्रेसबाट निर्वाचित भएर आउनुभएका सबै सांसदहरूलाई शान्त चित्तले सोचेर सबै आग्रह र बन्धनबाट मुक्त भएर मतदान गर्न आग्रह गर्दछु ।

’ स्थायित्व र निरन्तरताको प्रतीकका रूपमा नेता शेखर कोइरालालाई लिएको जिकिर गर्दै उहाँले पार्टीलाई रूपान्तरण र देश बदल्नका लागि परिवर्तनका पक्षधरहरूलाई कोइरालालले नै नेतृत्व गर्नुभएको बताउनुभयो । झापामा चुनाव जितेलगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका प्रकाशमान सिंह समूहका महामन्त्री शर्मा र गत महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलसमेतले थापालाई समर्थन गरेपछि संस्थापन समूहमा हलचल आएको संस्थापन समूहकै नेताहरूले बताएका छन् ।

पुस्तान्तरण र रूपान्तरणको पक्षमा बढेको विश्वासलाई रोक्न आफ्नो पक्षका सांसदहरूलाई कतै हलचल गर्न नदिने पक्षमा संस्थापन समूह रहे पनि गोप्य मतदानको अधिकारको प्रयोग उनीहरूले कहाँ गर्छन् भनेर यसै भन्न नसकिने देउवा निकट एक सांसदले बताए । उनले भने– ‘हामी त शेरबहादुर दाइकै पक्षमा लाग्ने हो, तर कसैको मनभित्र पस्न सकिँदैन’, महामन्त्रीको पनि एक खालको माहोल बनेकै देखिन्छ, गोप्य मतदान हो, यसै भन्न सकिन्न ।’

संस्थापनइतर समूहमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माको प्रवेश निकै अर्थपूर्ण रूपमा हेरिएको छ । योसँगै इतर समूहको आयतन अझै बृहत् बन्न गएको नेताहरूले बताएका छन् ।हिजोसम्म फरक कित्तामा उभिएर असन्तुष्टि पोख्दै आएका पुराना पुस्ताका नेताहरूले देउवालाई नै समर्थन गर्नु परिवर्तन र नयाँ नेतृत्वको अस्तित्व स्वीकार नगर्नु भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब कांग्रेसमा नयाँ जागरण चाहिएको छ, नेताहरूले त्यसलाई स्वीकार्नुपर्छ, जनताको परिवर्तनको अपेक्षालाई उहाँहरूले सम्मान गर्नुपर्छ ।’

संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।

संस्थापन समूहकै केही युवा नेताहरूले युवाकै पक्षमा लाग्ने आश्वासन दिएका कारण थापा समूहसँग ३९ सांसद संख्या पुग्ने अनुमान गरिएको छ । अंकगणितमा अझै केही पछि देखिए पनि गगन थापा कांग्रेस समर्थक मात्रै नभई आम नागरिकको आशा आफूतिर आकृष्ट गर्न सफल हुनुभएको छ । कांग्रेस संसदीय दलको नेताको लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदै छ ।  नेपाल समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);