निर्वाचन आयोगले समानुपातिक सिट संख्या आज सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, ७ पुष । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ ।

 

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड तथा दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायत काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो । प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम पूरा भएको आयोगले जनाएको छ । सचिव पौड्यालका अनुसार आयोगले आज बैठक बसेर नतिजा सार्वजनिक गर्ने छ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० जना जनप्रतिनिधि चयन हुने संवैधानिक व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभामा सदर मतको १ दशमलव ५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था छ ।

 

समानुपातिकतर्फको प्रारम्भिक नतिजा सार्वजनिक गरेसँगै आयोगले राजनीतिक दललाई उम्मेदवारको बन्दसूचीबाट समावेशीको आधार मिलाइ केन्द्रीय कार्यसमितिको वैठकबाट नाम अनुमोदन गराएर पठाउन एक साताको समय प्रदान गर्नेछ । उक्त समयभित्र आएको नामलाई सच्याउन वा मिलाउन चाहने राजनीतिक दललाई थप तीन दिनको समय प्रदान गरिने आयोगले जनाएको छ । त्यसपछि बन्दसूचीमा पेश भएका क्रमअनुसारका आधारमा राजनीतिक दलले प्राप्त गरेका सिट र विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्नेछ । त्यसपछि आयोगले सम्बन्धित प्रदेशमा राजनीतिक दलका उम्मेदवार विजयी भएको जानकारी प्रदेश प्रमुखलाई पनि आयोगले पठाउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);