३४ बर्षका युवा प्रधानमन्त्री बनेको इतिहास नेपालमा पनि छ। (भिडियो रिपोर्टसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

३४ बर्षका युवा प्रधानमन्त्री बनेको इतिहास नेपालमा पनि छ। (भिडियो रिपोर्टसहित)

माउण्टेन टेलिभिजन। नेपाली काँग्रेसको नेतृत्व गरेर वीपी कोइराला ४५ वर्षकै उमेरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाले जेलको कठोर जीवन भोगेर हुर्काएको दलले देशलाई धेरै नेता दियो । तर, वीपीपछि काँग्रेसबाट प्रधानमन्त्री बनेका नेताहरु सबै ५० वर्ष पार गरेकाहरु नै भए । विश्वमा कम उमेरका राष्ट्रप्रमुख र सरकार प्रमुख बन्दा हाम्रो देशमा निकै चर्चा हुने गर्दछ । तर नेपाल मै पनि ३४ बर्षका युवा प्रधानमन्त्री बनेको इतिहास छ ।

काँग्रेसभित्र ५० वर्ष कम उमेरकाहरुले यतिबेला प्रधानमन्त्रीको दाबी गर्न थालेका छन् । जसमध्ये महामन्त्री गगन थापा पनि हुन् । गगनको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा खुलेरै लागेका छन् । तर, ५० वर्ष कम उमेरका को त के कुरा ६० वर्ष मुनीकालाई पनि काँग्रेसबाट प्रधानमन्त्री बन्न फलामको च्युरा चपाउनु सरह छ । काँग्रेसबाट ८० को नजिक पुगेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रधानमन्त्रीको दाबेदार छन् । ७० कटेका डा. शेखर कोइराला र त्यस नजिक पुगेका प्रकाशमान सिंह र डा. सशांक कोइरालाको पनि दाबी देखिन्छ । नेकपा एमालेमा ७० कटेका केपी शर्मा ओलीलाई टक्कर दिन कोही सरेको छैन । माओवादी केन्द्रबाट प्रचण्ड र नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाललाई चुनौती दिने कोही देखिँदैनन् ।

यसकारण यी दलहरुले ५० त के ६० वर्ष मुनी उमेरका प्रधानमन्त्री तयार गर्ने तत्काल देखिदैन । ५० मुनीका रवि लामिछाने र डा. सीके राउत नयाँ शक्तिका रुपमा उदाएका छन् । उनीहरु भावी प्रधानमन्त्रीको दाबेदार देखिएपनि तत्काल त्यो सम्भावना क्षीण छ । यसकारण पनि देशले तत्काल ५० वर्ष मुनीको प्रधानमन्त्री पाउने सम्भावना कमजोर छ । प्रजातन्त्र स्थापना भएपछि देशले युवा प्रधानमन्त्रीहरु पाएको इतिहास छ। मातृकाप्रसाद कोइराला ३९ र सुवर्ण शमशेर ४८ वर्षमा प्रधानमन्त्री भएका थिए । टंकप्रसाद आचार्य ४४ वर्षमै प्रधानमन्त्री भएका थिए ।

राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन शुरु गरेपछि ३५ वर्षका सुर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । पञ्चायतमा ३४ वर्षमा तुलसी गिरीले पनि प्रधानमन्त्रीको जिम्मेवारी पाएका थिए । किर्तिनिधि बिष्ट ४२ वर्ष र नगेन्द्रप्रसाद रिजाल ४६ वर्षमै प्रधानमन्त्री भएका थिए । देशले ५० मात्र नभई ४० मुनीका धेरै प्रधानमन्त्री पाएको इतिहास छ । विश्व राजनीतिमा पछिल्लो समयमा ५० मुनीका राष्ट्रपति र प्रधानमन्त्रीको संख्या उल्लेख्य छन् । बेलायतमा ४२ वर्षका ऋषि सुनक प्रधानमन्त्री बनेका छन् । न्युजिल्यान्डमा ४२ वर्षकी जाकिन्डा अरडेन प्रधानमन्त्री छिन् । विश्व राजनीतिमा युवाहरु देशको कार्यकारी पदमा पुग्ने क्रम बढिरहँदा नेपालभित्र पनि युवाहरुमा उत्साह जागेको देखिन्छ । तर, युवा नेताहरुले पुरानालाई उछिनेर प्रधानमन्त्री बन्ने सफलता हासिल गर्न सकेका छैनन् । उनीहरुमा छटपटाहट मात्र देखिन्छ । तत्काल ५० भन्दा कम उमेरकाले प्रधानमन्त्री पदमा पुगेर बाजी मार्ने सम्भावना कमजोर छ । तर, असम्भव भने छैन ।

Leave a Reply

ताजा समाचार