काठमाडौँ, २८ मंसिर। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमारविरुद्ध नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपालका लागि कप्तान रित गौतमले उत्कृष्ट ब्याटिङ गर्दै सतक बनाएका थिए। खेलमा अविजित रहेका कप्तान रितले १०३ रन बनाए।
यस्तै अविजित रहेका प्रतिशले आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा ६३ रन बनाए । उनले १० चौका र १ छक्का प्रहर गरे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए । त्यस्तै नेपालका विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए ।
समूह ‘ए’मा नेपालले दुवै खेल जित्दा म्यानमारले दुवै खेल हारेको छ । म्यानमार प्रतियोगिताबाट बाहिरिसकेको छ । आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।