काठमाण्डौँ, २५ मंसिर । चितवन क्षेत्र नम्बर -३ बाट निर्वाचित भएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिकुलताकाबीच पनि निर्वाचन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।
राप्रपाका विक्रम पाण्डेलाई हराएका प्रचण्डले जित पछि मतदातालाई धन्यवाद दिँदै सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने पनि बताएका छन् ।
जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।
सरकार गठनका क्रममा भागवण्डामा कुनै समस्या नहुने बताउँदै भागवण्डा आफूहरुको एजेण्डा नभएको भन्दै सम्बृद्धि र स्थायित्वमा ध्यान दिने बताए ।
उनले सरकार गठन अघि नै पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने लागेको तर, समयले सम्भव नहुन सक्ने भन्दै सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने बताए ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई धन्यवाद दिए । पराजय भोग्नु पर्ने थाहा हुँदा हुँदै चुनाव गर्ने बाचा पूरा गरेको भन्दै उनले देउवालाई धन्यवाद दिए ।
पत्रकारहरुको एक प्रश्नमा उनले संविधान संशोधन समय क्रममा आवश्यकता आनुसार हुँदै जाने बताए । प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उनले बताए ।