शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

खोटाङ। शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको कापी चेक गर्ने भएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेक गर्ने तयारी गरेको हो। सातवटा वडा रहेको गाउँपालिकाले सुरुमा कक्षा १ देखि ३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्ने तथा कक्षा कार्य र गृहकार्य चेक गर्ने भएको हो । पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ छपाइको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष समिर राईले बताए । यो कदम केही कामचोर शिक्षकमाथिको ‘निगरानी’का लागि ल्याइएको बुझिएको छ । आगामी १ मंसिरदेखि निःशुल्क कापी वितरण गर्ने र चेक गर्ने अभियान लागू गरिने गाउँपालिकाले जनाएको छ । मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रअको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख हुने ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । गाउँपालिकाका अनुसार चालू शैक्षिक सत्रका लागि १६ हजार कापी छापिँदैछन् । कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्वन्धित विद्यालयका प्रधानाध्यापकले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रधानाध्यापकले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिकाले जनाएको छ ।कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउनमा पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलव्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको गाउँपालिका अध्यक्ष राईले बताए । यस कदमले शिक्षकमाथि विद्यार्थीलाई बढीभन्दा बढी कक्षा र गृहकार्य गराउनमा दबाब सिर्जना हुने दावी गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षणिक क्रियाकलापबारे गाउँपालिकालाई जानकारी हुने छ । छात्र/छात्रालाई कक्षा कार्य र गृहकार्य गराउने वा नगराउने शिक्षकको पहिचान हुनेछ । नियमित गृहकार्य गर्ने/नगर्ने विद्यार्थीको पनि पत्ता लाग्नेछ । गाउँपालिकाले दिएको कापी लगेर प्रयोग गर्नुपर्दा फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने अध्यक्ष राईले बताए ।

‘विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ । शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ,’ अध्यक्ष राईले भने, ‘बेस बनाउन तल्लो कक्षाको कापी चेक गर्ने रणनीति बनाइएको हो । पढ्नुपर्छ-पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउने अपेक्षा लिएका छौँ । यसबाट आन्तरिक प्रतिष्पर्धा पनि हुन्छ।’  विद्यार्थीको कापी चेक गर्ने नीतिले गाउँपालिकाभरीका विद्यालयमा कोर्सलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने दाबी गरिएको छ। कापी अभावमा होमवर्क नगर्ने विद्यार्थीले पनि नियमित होमवर्क गर्ने वातावरण बन्ने गाउँपालिकाले जनाएको छ । पालिकाले चेक गरिसकेको कापी विद्यार्थीले फिर्ता लैजान पाउने छन् । अभ्यास पुस्तिकाको पछाडिपट्टिको जिल्दामा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ। यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षा शाखाले विषय शिक्षक/कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ। अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनुपर्ने छ । शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ। यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए/नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रूपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ।

आगामी शैक्षिकसत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी चेक गर्ने अवधारणा बनाइएको गाउँपालिका अध्यक्ष राईले बताए । केपिलासगढीका ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन् । त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म एक हजार १४ जना विधार्थी अध्ययनरत छन् ।

 

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);