हुम्लामा खुल्न थाले विद्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हुम्लामा खुल्न थाले विद्यालय

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयसम्मको कोरोना कहरले बन्द रहेका सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन थालेका छन् । जिल्लामा कोरोना संक्रमणको दर कम हुँदै गएपछि जिल्लाका सातवटै गाउँपालिकाले आफ्ना मातहातमा रहेका शैक्षिक गतिविधि सञ्चालनमा ल्याउन थालेका हुन् ।

जिल्ला डिसिसिएमसीको १४ भदौकाे बैठकले जिल्लाभरी रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कोभिडको अवस्था हेरी शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेअनुसार हुम्लाका स्थानीय तहले विद्यालय भाैतिकरूमा पठनपाठन कार्यलाई अगाडि बढाउन थालेका हुन् ।

जिल्लाको उत्तरी उच्च भेगमा रहेको नाम्खा गाउँपालिकाले आइतबारबाट आफ्ना पालिकामा रहेका विद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै गाउँपालिकाकाे शिक्षा समितिको बैठकले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेअनुसार विद्यालय सञ्चालनमा ल्याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।

गाउँपालिकाको शिक्षा समितिले १६ भदाैकाे निर्णयअनुसार आतबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरू भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले बताए । कोरोना संक्रमणले लामो समय बन्द रहेका विद्यालयहरू भाैतिक रुपमा नै सञ्चालन गर्ने वातावरण तयार भएपछि १७ वटै विद्यालयकाे पठनपाठन सुरु गरिएकाे गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

यसअघि निर्णय भएर विद्यालयलाई पत्राचारसमेत भइसकेको कारण सबै स्वास्थ्यका मापदण्ड पूरा गरेर पठनपाठन सुरु भएको हो । विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पूर्णरूपमा अपनाएको बताइएको छ ।

नाम्खाका कुल विद्यालयमध्ये लिमीका दुईवटा विद्यालयहरुमा भने यसअघि पनि नियमित हुँदै आएको थियो । यस्तै जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले २२ भदौबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

केही समयअगाडि कोरोनाको हटस्पटका रूपमा रहेको दक्षिण भेगका चारवटा गाउँपालिकालेसमेत संक्रमणको अवस्था शून्य रहेपछि विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेका छन् । सिमकोट र खार्पुनाथ गाउँपालिकाले २७ भदाैबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय यसअघि नै गरिसकेका छन् ।

जिल्लाको तीनवटा चंखेली,ताँजकोट र सर्केगाड गाउँपालिकाले भने विद्यालय सञ्चालनमा ल्याउने अहिलेसम्म निर्णय गरी नसकेको बताइएको छ । यसअघि लामो समय बन्द रहेका जिल्लाभरका सामुदायिक विद्यालयमा पूर्ण सावधानी अपनाएर विद्यार्थीकाे भाैतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);