इटहरी, २१ मंसिर। नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बिहीबार दिउँसो सुनसरीको दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उपप्रधानमन्त्री गच्छदारका प्रतिद्वन्द्वी नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरेकी छन् ।
दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उपप्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भएको बताए ।
उनले ‘मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धि रक्षाका लागि जुन उत्साह र उमंग देखिएको छ, त्यसलाई मूर्तरुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने वातावरण बनिरहेकामा आफूलाई भित्रैदेखि उत्साह जागेको’ पनि सन्चारकर्मीसँगको संक्षिप्त जिज्ञासामा बताए ।
उपप्रधानमन्त्री गच्छदारले विपक्षी उम्मेदवार वा दलभन्दा आफूले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएकोसमेत दाबी गरे । उनले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा देखिएको निराशालाई यो चुनावले अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वासले तुताहा केन्द्रबाट र नेकपा माओवादी केन्द्रका तर्फबाट बिनाविभागीय मन्त्री रहेकका जाकिर हुसैनले इटहरीको पकली मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । सुनसरीमा बिहीबार दिउँसो २ बजेसम्म सम्पूर्ण मतदाताले निर्वाधरुपमा मतदान गरिरहेका छन् ।
बिहान मतदान प्रारम्भ भएको केही घन्टापछि धरान उपमहानगरपालिका–१६ को चन्द्र संस्कृत विद्यालयको मतदान केन्द्रबाहिर बम विस्फोट भएको थियो । तर, बम विस्फोटबाट सर्वसाधारण मतदातालाई कुनै असर नपरेको प्रहरीले जनाएको छ ।
सुनसरीको सम्पूर्ण मतदानस्थलमा लगभग ४० देखि ४५ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले आँकडा दिएका छन् । मतदाताहरु आ–आफ्नो निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मत दिनका लागि उत्साहका साथ पंक्तिबद्ध भएर पालो पर्खिरहेका पाइएको छ ।