काठमाडौं, १५ मंसिर । नेपाली काँग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले सहजै बहुमत ल्याउने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि आफ्नो पार्टीले अग्रता कायम गरेको दावी गरे । संयोजक खाँडले समानुपातिकतर्फ पनि आफ्नो पार्टीले अग्रता कायम गर्ने दाबी गरे ।
संयोजक खाँडले निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने र त्यसले मुलुकको समृद्धिका लागि काम गर्ने स्पष्ट पारे । उनले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोतहरुको उचित परिचालन गर्ने योजना समेत अघि सारे ।
कार्यक्रममा बोल्दै उद्योगपति एवम् नेपाली काँग्रेस, केन्द्रिय चुनाव आर्थिक उपसमितिका संयोजक विनोद चौधरीले नेपाली काँग्रेसको नेतृत्वमा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताए । नेपाली काँग्रेसले दोस्रो चरणमा हुने निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न पार्टीको सिंगो शक्तिलाई परिचालन गरिएको जनाएको छ ।