यस्तो छ भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्ने हिमाल गिरोहको नालिबेली | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

यस्तो छ भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्ने हिमाल गिरोहको नालिबेली

सन्दिप शर्मा
काठमाडौं । २०७९ साउन १ गते आइतबार नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पत्रकार सम्मेलन गरेर सडक बालबालिकालाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेका ५ जनालाई सार्वजनिक ग¥यो । नेपालमा मिर्गौलाको बेचबिखन हुने गरेको शङ्का धेरैले गरे पनि सर्वाजनिक रूपमा यस्ता घटनाहरू बाहिर भने आएका थिएनन् ।

अनुसन्धान ब्यूरोले पहिलोपटक सार्वजनिक गरेको यो घटनाले थप कति जनालाई यसरी भारत लगेर मिर्गौला बेचबिखन गरिएको थियो र यसको जालो कस्तो रहेको छ भन्नेतर्फ धेरैको ध्यान केन्द्रित गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका (मुख्य योजनाकार), गुल्मीका विजय कुँवर (सहायक योजनाकार) र उनीहरूको सहयोगीका रूपमा कार्यरत दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङ पक्राउ परेका छन् । आरोपीहरूलाई अहिले प्रहरीले म्याद थपगरी अनुसन्धान गरिरहेको छ ।

आरोपीहरूले भारतमा गएर मिर्गौला दान गरेबापत जनही ७ लाख नगद र एउटा ५० हजार रूपैयाँ पर्ने नयाँ मोबाइल सेट दिने भन्दै प्रलोभनमा पार्ने गरेका थिए तर मिर्गौला दिई सकेपछि भने पाँच लाख र मोबाइल सेट मात्रै दिने गरेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता मल्लले बताए । पक्राउ परेका उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्यूरोले जनाएको छ ।

चरण –१
गिरोहले यसरी पार्ने गरेको थियो पीडितलाई प्रलोभनमा

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पक्राउ परेका पाँच जनामध्ये भुपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङले पहिलो चरणमा विपन्न परिवारका सदस्यहरू तथा सडकमा बसोबास गर्दै आएका बालबालिकाको पहिचान गर्ने गरेको थियो । उनीहरूको नजरमा गौशाला र कोटेश्वरका सडकमा बस्ने बालबालिका पहिलो रोजाइ हुन्थ्यो । त्यस स्थानका बालवालिकाको साथमा नैै बस्ने, काम गर्ने, खाना तथा खाजा सँगै खाने गर्थे । सँगै बस्ने बेलामा उनीहरूको मनस्थिति बुझी विस्तारै विस्तारै प्रलोभनमा पार्ने गरेका थिए । यस्तो जिन्दगी पनि के गर्ने यार ( क ३२१ नाम परिवर्तन ) ले जसरी मिर्गौला बेच्न पाए पनि पैसा हुने थियो केही व्यापार व्यवसाय त गर्न पाइन्थ्यो भन्ने गर्थे । अनि पीडितलाई पनि शरीरमा दुई वटा मिर्गौला हुने र एक मिर्गौला बेच्दा ७ लाख रूपैयाँ कमाइ हुने र पचास हजार भन्दा बढी मुल्य पर्ने एक सेट मोबाइलसमेत उपलब्ध हुने भन्दै उत्साहित पार्ने गरेका थिए । उनीहरूको कुरा जसले पत्याउँथ्यो र मिर्गौला बिक्री गर्न राजी हुन्थो उसको नाम लिस्टमा चढ्थ्यो ।

चरण–२
लिस्टमा परेकाहरूको स्वाथ्य चेक जाँच र खानपान

यसरी लिस्टमा नाम चढेकाहरूलाई गिरोहले शुरुको एक दुई दिन पैसा खर्च गरेरै काठमाडौंका राम्रो राम्रो होटलमा खाना बस्नको व्यवस्थापन गर्ने काम गथ्र्याे । त्यसपछि गौशालामा रहेको एक क्लिनिकमा मुख्य योजनकार हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र रोकाका सहयोगीका रूपमा रहेका सहायक योजनाकार विजय कुँवरको विशेष निगरानीमा पीडितको रगतको ग्रुपसहित पूर्णस्वाथ्यको चेक जाँच गर्ने काम हुने गरेको थियो । स्वाथ्य चेकजाँचको रिपोर्ट पछि मिर्गौला निकाल्न मिल्नेहरूको नाम लिस्ट तयार पारेर उनीहरूले भारतमा रहेको अर्काे गिरोहलाई नामसहित फोटो, ब्लड ग्रुप र स्वाथ्य चेकजाँचको रिपोर्ट पाठाउँथ्यो ।

चरण –३
मिर्गौला बिक्रीका लागि ग्राहकको खोजी र बोर्डर क्रस

काठमाडौंमा मिर्गौला दिन तयार पारिएकाको नाम र स्वाथ्य डिटेल भारतमा रहेको अर्काे गिरोहसम्म पुगिसकेपछि भारतमा रहेको गिरोहले उनीहरूको मिर्गौला बिक्रीका लागि ग्राहक खोज्ने काम गर्छ । मिर्गौला किन्नेहरूको अवस्था हेरी पौसाको डिल गर्छ र मान्छे फिक्स गरी काठमाडौंमा मिर्गौला बेच्न तयार पारी राखिएकालाई रक्सौल नाका हुँदै भारत प्रवेश गर्न लगाउँछ । गिरोहले रक्सौल नाकाबाट कसरी भारत छिराउँछ ! यो अझै अनुसन्धानको पाटोमा नै रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारी भन्छन् “पक्राउ परेका आरोपीहरूको अनुसार रक्सौल नाकामा पु¥याए पछि काठमाडौंमा सञ्चालन रहेको यो गिरोहको काम भने सकिन्छ । त्यहाँबाट अर्काे गिरोहले पीडितहरूलाई रिसिभ गर्छ र भारतमा लगेर राम्रो होटलमा खान बस्नको व्यवस्थापन मिलाउँछ ।”

चरण–४
मिर्गौला बिक्रीका लागि दिल्ली र कोलकाक्ता

अनुसन्धान अधिकृतका अनुसार काठमाडौंबाट लगिएका पीडितलाई मिर्गौला चाहिने ग्राहकले दिल्लीका अस्पतालमा प्रत्यारोपण गर्छ कि कोलकात्ताको अस्पतालमा सोहीअनुसार दिल्ली वा कोलकाता लैजाने गरिन्छ । मिर्गौला प्रत्यारोपण गर्ने ग्राहकको प्रत्यक्ष निगरानीमा र उनीहरूकै खर्चमा ३ महिनासम्म उनीहरूलाई उक्त स्थानको सुविधा सम्पन्न होटलमा राखिन्छ । होटलमा राखेपछि मिर्गौला स्वस्थ बनाउनका लागि चाहिने खाने कुरा खुवाउने गरिन्छ र मिर्गौलाको क्षमता बढाइन्छ । अनि मिर्गौला प्रत्यारोपण गर्ने समयअनुसार उनीहरूको मिर्गौला प्रत्यारोपण गरिन्छ । यसरी चार चरणमा पीडितहरूको मिर्गौला बेचिन्छ भने मिर्गौलाको पत्यारोपण पछि ७ लाख दिने भनिए तापनि ५ लाख र मोबाईल फोन मात्रै दिएर नेपालमा फिर्ता पठाउने गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान अधिकारीले बताउँछन् ।

काठमाडौंमा रहेको उक्त गिरोह कसरी पत्ता लाग्यो, कसरी पक्राउ गरियो ?

गत असार २८ गते विभिन्न स्थानबाट पक्राउ परेका ५ अरोपी सँगै ब्यूरोले अन्दाजी २० र २१ वर्षका दुई जना पुरुषहरूको समेत उद्दार गरेको थियो । उद्धार गरेका पुरुषका आफन्तले मिर्गौला बिक्री गर्नलागेको थाहा पाएपछि ब्यूरोमा सम्पर्क राखेका थिए । उक्त जानकारी पाएलगत्तै ब्यूरोले मिसन हिमाल ग्रुप गठन गरेको थियो । ब्यूरोेले सम्पर्क कर्ताहरूको सहयोगमा दैनिक ८ जना सिभिल डे«सका प्रहरीलाई एक हप्तासम्म मिसन हिमाल ग्रुपको खोजी कार्यका गर्न खटाएको थियो । उनीहरूले पीडित सँगै आरोपीहरूको बारेमा अनुसन्धान गर्दै आएका थिए । गिरोहले पीडितलाई कुन होटलमा राखेको छ र कहिले कहिले उनीहरूको स्वाथ्य परीक्षण गर्ने गर्छ भनेर काठमाडौंका क्लिनिक तथा अस्पतालमा ब्यूरोबाट खटिएका खटिएका सादा पोशाका प्रहरीले विशेष रेखदेख गरेका थिए । प्रहरीले खोजीकै क्रममा उक्त गिरोहले गौशालास्थित एक क्लिनिकमा स्वाथ्य चेकजाँच गराएको अनुसन्धानमा खुलेको थियो । स्वाथ्य जाँच गराएपछि गिरोहले भारत लैजान तयारी गरीरहेकै बेला दुई पुरुषको उद्धार ग¥यो भने सोही स्थानबाट भूपेन्द्र शाही, विमलबहादुर शाही र आशिष तामाङलाई पनि पक्राउ ग¥यो । पक्राउ परेका आरोपीहरूले मुख्य योजनाकारका रूपमा रहेका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र गुल्मीका विजय कुँवर को नाम पोलेका थिए । त्यसपछि प्रहरीले श्रेष्ठ र कुँवरलाई पक्राउ गरेको थियो ।

हालसम्म करीब २ सयको मिर्गौला बेचबिखन गरिएको अनुमान, सबैभन्दा धेरै पीडित काभ्रेका

नेपालमा विभिन्न प्रलोभनमा परी मिर्गौला बेच्ने थप गिरोहसमेत रहेको ब्यूरोको अनुमान छ । अहिले पक्राउ परेको गिरोह ३ वर्षदेखि सो कार्यमा संलग्न रहेको पाइएको अनुसन्धान अधिकारी बताउँछन् । पक्राउ परेको गिरोहले ३ जनाको मिर्गौला भारतमा लगेर बेचिसकेको छ भने थप अरुको कति जनाको यो गिरोहमार्फत् बिक्री भएको छ भन्ने अनुसन्धान प्रकियामा नै रहेको उनी बताउँछन् । यसमा अरु गिरोह पनि रहेको र हालसम्म विभिन्न गिरोहमार्फत् करिब २ सय जनाको मिर्गौला बिचबिखन भई सकेको ब्यूरोमा कार्यरत एक अनुसन्धान अधिकारी बताउँछन् । ती अनुसन्धान अधिकारीका अनुसार सबैभन्दा बढी पीडित काभ्रे जिल्लाका रहेका छन् । ती पीडितहरूको समेत खोजी कार्य भैरहेको छ । अहिले पक्राउ परेका ५ जनामध्ये दुई जनाको समेत पहिले नै अन्य गिरोहमार्फत् मिर्गौला बेचिएको हुनाले यसमा थप ठूलै गिरोह रहेको हुनसक्ने ब्यूरोको अनुमान छ ।

कसरी यस्तो कार्यमा संलग्न बने मुख्य योजनाकारका रूपमा पक्राउ परेका रामेछापका धनबहादुर रोका उर्फ हिमाल श्रेष्ठ

मिसन हिमाल ग्रुपमा बसेर काम गरेका एक अनुसन्धान अधिकारीका अनुसार तीन वर्ष पहिला रोजगारीको सिलसिलामा हिमाल काठमाडौं आएका थिए । काठमाडौंमा आएपछि उनले काम पाएनन् र सडकमा नै बस्न थाले । सडकमा नै बस्दाबस्दै उनको मिर्गौला तस्करीमा संलग्न रहेको अर्काे गिरोहको समूहको एजेन्टसँग भेट भयो । उक्त एजेन्टसँगको भेट पछि छिट्टै पैसा कामाउने लोभमा हिमालले पनि मिर्गौला तस्करीको काम गर्नथाले । अरुभन्दा चलाख भएको हुनाले हिमालले काठमाडौंमा धेरै छिटो आफ्नो नेटवर्क विस्तार गर्न सफल भएका थिए । उनको समूहमा अरु पनि हुन सक्ने ब्यूरोको अनुसन्धानमा खुलेको छ । भारततर्फ हिमालले पठाएका मान्छेहरू कसले रिसिभ गरिन्थ्यो र उक्त समूह कुन थियो भन्ने अभैm अनुसन्धान प्रक्रियामै रहेको छ । रामेछापमा धनबादुर रोका भनेर चिनिने उनी काठमाडौंमा हिमाल श्रेष्ठ भनेर चिनिन्थे भने भारतमा अर्कै नामले चिनिन्थे । त्यसकारण पनि हिमालले सञ्चालन गरेको गिरोहमा अरु को को रहेका छन् भन्ने अनुसन्धानकै पाटोमा रहेको ब्यूरोमा कार्यरत एक प्रहरी अधिकारी बताउँछन् । ब्यूरोले सिआईबी र प्रहरीको सहयोगमा थप अन्य गिरोहको खोजतलास गरिरहेको छ । धनबहादुर रोका उर्फ हिमाल पक्राउ परेपछि भने अरु उनको समूहका सदस्य र यस्तै आपराधिक गतिविधिमा संलग्न अन्य गिरोह अहिले अन्डरग्राउन्ड बनेका छन् । प्रहरीको सक्रियता पछि यस्तो समूह अन्डरग्राउण्ड भएकाले पनि प्रहरी अनुसन्धानमा भने केही समस्या उत्पन्न भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);