पौडेलको हत्या गर्ने नियतले बम विष्फोट : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौ, २ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको हत्या गर्ने मनसायले  तनहुँमा बम विष्फोट गराइएकाे  कांग्रेसले जनाएकाे छ । यस घटनाको कांग्रेसले घोर निन्दा र भत्सना गरेको छ ।

यस्ता घृणित घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको कांग्रेसले ठहर गरेको छ ।

लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न यस्ता घटना घटाइएको कांग्रेसले विज्ञप्तीमार्फत जनाएको छ । यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहोर्याउन नेपाली कांग्रेसले चेतावनी समेत दिएको छ ।

घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का  कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी यस जिल्लाको भानु नगरपालिका वडा नं. १० स्थित नेपाल डाँडा नजिक अज्ञात समूहले आज प्रेसर कुकर बम प्रहार गरेका थिए ।

गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लमजुङको वेशीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३ः१५ बजे नेता पौडेल जढेको सवारी साधनमाथि बम प्रहार भएको थियो ।

बम प्रहारबाट सवारी साधनमा क्षति पुगेको भएता पनि नेता पौडेल सुरक्षित छन् । पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी घाइते भएका छन्।

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अत्तालिएर कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटनाहरु घटिरहनु अत्यन्त दुःखद विषय भएको कांग्रेसको ठहर छ ।

जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित नहुनेमा कांग्रेस विश्वस्त रहेको पार्टीले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);