काठमाडौँ, २ मंसिर। काठमाडौंका १० मध्ये एउटा निर्वाचन क्षेत्रमा एमाले र राप्रपाका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । क्षेत्र नम्बर ७ मा राप्रपाका विक्रमबहादुर थापा र एमालेका रामबीर मानन्धर मुख्य प्रतिस्पर्धी हुन् । थापा र मानन्धर आफ्नो जित सुनिश्चित गर्न मतदाताको घर–दैलो गरिरहेका छन ।
काठमाडौं–७ मा राप्रपाका विक्रमबहादुर थापालाई कांग्रेसले समर्थन गरेको छ भने एमालेका उम्मेदवार रामबीर मानन्धरलाई माओवादी केन्द्रले साथ दिएको छ। असन, पर्यटकीय नगरी ठमेलदेखि कागतीगाउँसम्म समेटिएको काठमाडौं–७ मा ५८ हजार ५ सय ५७ मतदाता छन्। मतदातालाई आफ्नो पक्षमा पार्न अहिले ६२ वर्षीय थापा नेताहरु मतदाताको घरदैलो पुगिरहेका छन।
थापाले जनचाहना बमोजिम काम गर्न मानन्धरभन्दा आफू योग्य भएको दाबी गरिरहेका छन् । थापाले मतदातासामु आफुले सुरु गरेका कामलाई निरन्तरता दिन आफूलाई जिताउन आग्रह गरिरहेका छन्। त्यसका लागि उनले प्रचार प्रसारमा कांग्रेसका नेता तथा कार्यकर्ताको साथ लिइरहेका छन्।
हाल महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका थापा मतदाताले विकल्प चाहेको र त्यो विकल्प आफू भएकोमा विश्वस्त देखिन्छन्। आफ्नो जनाधार बलियो रहेको र कांग्रेसको समेत समर्थन रहेकाले मानन्धरलाई सजिलै पराजित गर्ने थापाको दाबी छ।
थापाले समानुपातिक सूचिमा रहेर संसद्को यात्रा गरेका हुन् । यो क्षेत्रमा कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रतिनिधिसभामा राप्रपाका थापाले टिकट पाएपनि प्रदेशसभातर्फ कांग्रेसका विजयबहादुर माली र धर्मराज अर्याल प्रतिस्पर्धामा रहेकाले कांग्रेसको मत आफूलाई आउनेमा थापा विश्वस्त देखिन्छन्।
यस क्षेत्रमा बाम गठबन्धनबाट पुर्व सांसद रामबिर मान्धर रहेका छन भने प्रदेशसभातर्फ वसन्त मानन्धर र प्रकाश श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेको छ । काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाका १, २ र ३ तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा समेटिएको यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीले ५ हजार र राप्रपाले दुई हजार एक सय मत पाएका थिए ।




