प्रदीप पौडेलको घरदैलो : युवाको सेल्फी क्रेज, ज्येष्ठ नागरिकको आशिर्वाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रदीप पौडेलको घरदैलो : युवाको सेल्फी क्रेज, ज्येष्ठ नागरिकको आशिर्वाद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति संघारमै आइपुग्दा उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उनीहरु आफ्ना प्रतिस्पर्धीलाई पराजित गरेर संसद छिर्ने दाउमा छन् । यस्तै मध्येका एक हुन् काठमाडौं क्षेत्र नम्बर ५ का गठबन्धनका साझा उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेल ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका प्रतिस्पर्धीलाई हराएर पौडेल देशको विकास र समृद्धि, आवश्यक कानुन निर्माण, जनताका जल्दाबल्दा समस्या समाधानका लागि काम गर्न र आवाज उठाउन संसदमा जान चाहेको बताउँछन् ।

दैनिक घरदैलोसहित चुनावी कार्यक्रम गरिरहेका पौडेल मतदाताको सद्भाव र सहयोगले आफू निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । मतदाताको घरदैलोमा पुग्दा युवाको आकर्षण र ज्येष्ठ नागरिकको सद्भाव र उनीहरुले दिने विजयीको शुभकामना र आर्शीवादले पौडेल आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।

प्रदीप घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिने युवाको उत्तिकै भिड देखिन्छ । घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।

टोखा नगरपालिका–७ मा पौडेल पुग्दा युवा, ज्येष्ठ नागरिक सबै उनीसँग हात मिलाउन, शुभकामना र आशीर्वाद दिन आतुर देखिन्थे । पौडेलको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल हो भनेर चिनाउनुपर्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

‘प्रदीप पौडेलले परिचय दिइरहनै पर्दैन, सबैले चिन्छन्,’ टोखा–७ की विद्या बराल भन्छिन्, ‘प्रदीप जस्तै नेता हरेक क्षेत्रमा जन्मिने हो भने परिवर्तन र विकाश दुवै सम्भव छ ।’ सरलशैली र नागरिकको समस्या सुन्न र समाधानमा पहल गर्न सक्ने क्षमता भएका नेताको रुपमा आफूले पौडेललाई चिनेको बरालको भनाइ छ । उनी भन्छिन्, ‘उहाँ जस्ता नेताहरु कमै जन्मिन्छन्, मलाई आशा छ प्रदीप यसपटक संसदमा प्रवेश गर्नुहुन्छ ।’

विद्या बरालकै जस्तो आत्मविश्वास स्थानीय राजेन्द्र श्रेष्ठको पनि छ । उनी अब युवालाई जिताएर युवा जोशबाट काम गराउन मतदाता तयार हुनुपर्ने बताउँछन् । ‘युवा जोश कस्तो हुन्छ भन्ने बालेनबाट काठमाडौंले मात्र होइन देशले अनभुव गरिसकेको छ,’ उनले भने, ‘यसकारण अब प्रदीपलाई जिताउनुपर्छ, काठमाडौं–५को मात्र होइन देशको विकास र समृद्धिका लागि ।’

मतदाताको सद्भाव र आशीर्वादले प्रदीप पौडेल पनि आफू निर्वाचित हुनेमा ढुक्क देखिन्छन् । काठमाडौं–५मा कांग्रेसको मत जोगाउन मात्र होइन निर्वाचित हुन कुनै पनि चुनौती अब नदेखिएको पौडलको दाबी छ । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णीम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वर पोखरेलाई पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच पौडेलको प्रचार र सहयोगमा जुटेका छन् । स्वर्णीम र नरहरिको सहयोगले पौडेलको जितलाई सहज बनाउन भूमिका खेल्ने कांग्रेस नेताको बुझाइ छ । प्रदीप पौडेलले जस्तोसुकै दाबी गरे पनि उनलाई सोही क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री ईश्वर पोखरेलको उम्मेदवारी भारी पर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);